मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

शुक्रबार बिहान पुनः सडक दबिएका कारण खुल्ने सम्भावना तत्कालका लागि टरेको हो ।

आश्विन २४, २०८२

लक्ष्मी गौतम

Rajduwali section of Mechi highway will not open immediately

पाँचथर — पहिरोका कारण अवरुद्ध मेची राजमार्ग तत्काल नखुन्ने भएको छ । राजदुवाली पहिरो क्षेत्रमा जमिनबाट पानी बग्ने (निस्कने क्रम) निरन्तर रहेकाले यो सडक पुनःस्थापनामा कठिनाइ भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

सडक डिभिजनले बिहीबार राति करिब ११ बजेसम्म काम गरेर ३ वटा खण्डमा सडक सञ्चालनमा ल्याउने प्रयास गरेको थियो ।यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएकामा शुक्रबार बिहान पुनः सडक दबिएका कारण खुल्ने सम्भावना तत्कालका लागि टरेको हो ।

'हामी अहिले पहिरोमाथि अस्थायी प्रकृतिको सडक तयार गर्दैछौं, जसको तलपट्टि ठूलो पानी निरन्तर बगिरहेको छ,' उनले भने, 'दबिने क्रम अझै केही दिनसम्म रहने देखिएकाले पुनः ढुंगा, रोडा, राखी सडक सञ्चालन राख्न भरमग्दुर प्रयास भइरहेको छ ।'

सडक डिभिजनको मूल ध्यान इलाम सदरमुकाममा साना गाडी सँगसँगै आपूर्तिका ठूला सवारीसमेत सञ्चालन गर्नु रहेको भट्टराईले बताए । 

असोज १७ र १८ गते भएको भीषण वर्षापछि गएको पहिरो र बाढीले ठाउँ–ठाउँ अवरुद्ध भएको सडक पूर्णरूपमा खुलाउन समय लाग्ने पनि सडक डिभिजनले जनाएको छ । यो सडक असोज १८ गतेदेखि अवरुद्ध छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully