कुवेतसँग खेलेपछि रोहित पौडल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक खेलमा नेतृत्व गर्ने कप्तान बनेका छन्
What you should know
काठमाडौँ — नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक क्रिकेट छनोटमा बुधबार कुवेतलाई पराजित गरेसँगै लगातार दोस्रो पटक विश्वकपमा पुग्ने सम्भावनातर्फ अगाडि बढेको थियो । यही खेलबाट नेपाली कप्तानको रूपमा रोहित पौडेलले अनुपम कीर्तिमान छोएका थिए ।
यो उनको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेलेको ५० औं खेल थियो । २३ वर्षे रोहितले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक खेलमा कप्तानी गरेका छन् । यसले उनी नेपालका सर्वाधिक सफल कप्तान पनि हुन् ।
रोहितबाहेक नेपालबाट पारस खड्काले २७, सन्दीप लामिछानेले १८ र ज्ञानेन्द्र मल्लले १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेतृत्व गरेका छन् । रोहितको कप्तानी नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक २७ खेल पनि जितेको छ । त्यस्तै नेपालले सन्दीपको कप्तानीमा नेपालले १३, पारसको कप्तानीमा ११ र ज्ञानेन्द्रको कप्तानीमा ९ खेल जितेको छ ।
रोहितको कप्तानीमा नेपालले १८ खेल हारेको छ भने तीन खेल ‘टाइ’ भएको छ । उनको कप्तानीमा नेपालको जित प्रतिशत ५४ छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालको जित प्रतिशत ७५ र सन्दीपको कप्तानीमा नेपालको जित प्रतिशत ७२.२२ छ । पारसको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४०.७४ प्रतिशतले खेल जितेको थियो ।
रोहितले सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध पहिलो पटक नेपालको कप्तानी गरेका थिए, जहाँ उनले २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रन बनाएका थिए । तर यो खेल उनको प्रदर्शनका लागि सम्झनुपर्ने मुख्य कारण बनेन । किनभने यो खेलमा नेपाली टोली अनेकन विश्व कीर्तिमान रच्न सफल भएको थियो ।
नेपालले यस खेलमा ३ विकेट गुमाई ३ सय १४ रन बनाएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक ३ सय रन सम्भव बनेको थियो । कुशल मल्लले ३४ बलमै १ सय रन पूरा गरेर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाएका थिए । यो कीर्तिमान भने भंग भइसकेको छ । तर, दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाएको ‘अजम्बरी कीर्तिमान’ भने इतिहासमा कहिले भंग हुने छैन । त्यसक्रममा उनले लगातार ६ छक्का प्रहार गरेका थिए । नेपालले यो खेल २ सय ७३ रनले जितेको थियो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन अन्तरको जित पनि थियो ।
रोहितको कप्तानीमा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै पुनरागमन गरेको थियो । सन् २०१४ मा पारसको कप्तानीमा बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेयता नेपालले १० वर्षपछि ‘ग्लोबल स्टेज’ मा पुनरागमन गरेको हो । रोहितकै कप्तानीमा नेपालले दुई साताअघि मात्र वेस्ट इन्डिजसँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको थियो । नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै यो सफलता हात पारेको हो ।
यसबाहेक रोहितको कप्तानीमा नेपालले सन् २०२३ मै पाकिस्तान र श्रीलंकामा गएर एकदिवसीय एसिया कप खेलेको थियो । नेपाली क्रिकेटको हकमा यो पनि पहिलो अवसर थियो । त्यसै वर्ष नेपाल विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको थियो ।
नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने दाउमा छ । यो भएमा नेपाललाई दुई पटक ट्वान्टी–२० विश्वकप डोर्याउने रोहित पहिलो कप्तान हुनेछन् । तर पहिलो खेलमै कुवेतले नेपालको ब्याटिङ परीक्षा लिएको थियो । गुलशन झाले १९ औं ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि नेपाल जसोतसो १ सय ४१ रन बनाउन सफल भएको थियो । रोहित विकेटका कारण पनि यसपटकको विश्वकप छनोट यात्रा निकै कठिन रहेको जनाउँछन् ।
‘विकेट निकै कठिन थियो, हामी १५०–१६० रनको हाराहारीमा स्कोर बनाउने सोचिरहेका थियौं । तर कुवेतले जसरी बलिङ गर्यो र विकेटको बाउन्स सामान्य थिएन । यसको श्रेय कुवेतको बलिङलाई पनि दिनुपर्छ,’ रोहितले अफिसियल ब्रोडकास्टर्ससँग भनेका थिए, ‘कुशल (भुर्तेल)सँग मेरो साझेदारी राम्रै भएको थियो । तर १५–१६ ओभरसम्म उनीहरूले राम्रो बलिङ गरेका थिए । भुर्तेलको ब्याटिङ र गुलशन झाले १९ ओभरमा जुन हिसाबले ब्याटिङ गरे, त्यसले हामीलाई राम्रो स्कोरमा उभ्याएको थियो ।’
रोहितले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७१ खेलमा १ हजार ५ सय १९ रन बनाइसकेका छन् । उनले ७ अर्धशतकसहित २७.६१ को औसत र ११८.८५ को स्ट्राइक रेटमा त्यति रन बनाएका हुन् । रोहितभन्दा बढी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रसिंह ऐरीले १ हजार ८ सय ६० र कुशल भुर्तेलले १ हजार ६ सय ६६ रन बनाएका छन् ।
