दाहालको सुरक्षामा पूर्वलडाकु र वाईसीएल दस्ता

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगेको भन्दै दाहालका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Purvaldaku and YCL squads in Dahal's security

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु र वाईसीएलका तालिमप्राप्त दस्ता खटिएको छ । 

गृह मन्त्रालयले दाहालको सुरक्षार्थ टोलीमा कटौती गरेपछि पूर्व लडाकू र वाईसीएल खटिएको माओवादी नेता रामप्रसाद सापकोटाले जानकारी दिए । 

‘सरकारले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अध्यक्षको सुरक्षाकर्मी फिर्ता गरेपछि पूर्व जनमुक्ति सेना, वाईसीएल सदस्यको व्यवस्था भएको छ,’ सापकोटाले भने, ‘अध्यक्षको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले विशेष सुरक्षाकर्मी खटाएको थियो ।’

तत्कालीन सरकारले माओवादी शान्ति प्रक्रियामा आएपछि सुरक्षा 'थ्रेट' उच्च रहेको भन्दै विशेष व्यवस्था गरेको थियो । त्यसयता दाहालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुँदै आएका थिए ।  

हाल दाहालको सुरक्षामा पछुवा गाडीसहित पूर्वलडाकु खटिएका छन् । सेना समायोजन भएपछि पूर्व लडाकुहरुले स्वेच्छिक अवकाश लिएका थिए । 'त्यसमध्येबाट छनोट गरी अध्यक्षको सुरक्षामा खटाइएको छ,' सापकोटाले भने ।

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगेको भन्दै दाहाल र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि खटिएका सुरक्षाकर्मी बिहीबार फिर्ता गरेको थियो ।

दाहालका ३४ सुरक्षाकर्मी फिर्ता भएका छन् । उनको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए । अब दाहालसँग १८ सुरक्षाकर्मी रहेका छन् ।

कान्तिपुर

Link copied successfully