थपिँदै नयाँ मतदाता, बिहीबारसम्म २१ हजार

सरकारले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि कानुनमा संशोधन गरेर अहिले मतदाता नामावली संकलन भइरहेको छ। जसअन्तर्गत बिहीबारसम्म २१ हजार ६ सय ४७ जनाले नाम दर्ता गराएका छन्। 

आश्विन २४, २०८२

राजेश मिश्र

Adding new voters, 21 thousand till Thursday

What you should know

काठमाडौँ — अध्यादेशमार्फत कानुन संशोधनपछि निर्वाचन आयोगले थालेको मतदाता नामावली संकलन अभियानमा बिहीबारसम्म २१ हजार बढीले नाम दर्ता गराएका छन् । आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन गरिरहेको छ।

सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।

निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले कात्तिक ३० गतेसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ । आयोगका सचिव महादेव पन्थले देशैभरका निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ताको काम भइरहेको बताए । 

उनका अनुसार बिहीबार साँझसम्म २१ हजार ६ सय ४७ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । मतदाता नामावली संकलन थालिएको पहिलो दिन देशैभर ८ हजारले नाम दर्ता गराएका थिए । बीचमा बिदा भयो । त्यसयता त्यो क्रम बढेको सचिव पन्थले बताए । १८ वर्ष उमेर पुगेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँछन् ।

अनलाइन प्रक्रिया मार्फत आवेदन दिने सुविधा आयोगले प्रदान गरेको छ । अनलाइनमा आफ्नो व्यक्तिगत विवरणहरु भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्छ । ‘जो जहाँ छन् । त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने सुविधा दिइएको छ,’ सचिव पन्थले भने, ‘अनलाइनमा जहाँबाट पनि रजिष्टर्ड गराउने सुविधा हुने नै भयो । अनलाइनमा व्यक्तिगत विवरण भरिसकेपछि आफू रहेकै जिल्लाको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउन सकिने सुविधा छ ।’

यसैका लागि आफ्नो गृह जिल्ला नै पुग्नुपर्ने बाध्यता नरहेको उनले बताए । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि कात्तिक ३० गतेसम्म मात्रै समय रहेकाले सो अवधिमा दर्ता गराइसक्न उनले आग्रह गरेका छन् । निर्धारित मितिसम्म संकलन भएका नाममाथि दावी विरोध लिन आयोगले त्यसलाई सम्बन्धित स्थानीय तहहरूमा पठाउने छ ।

दावी विरोधको प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम मतदाता नामावलीमा अहिले संकलित हुने नामहरू चढाइने छ । मतदाता नामावली संकलनल कार्यलाई आयोगले विशेष महत्व र प्राथमिकता दिएर बढाएको भन्दै सचिव पन्थले योग्यता पुगेका र नाम छुटेकहरूलाई यस अभियानमा जोडिन आग्रह गरेका छन् ।

 निर्वाचनका लागि पहिलो र महत्वपूर्ण काममा मतदाता नामावलीको तयारी पर्छ । निर्वाचनको तयारीमा जुटेको आयोगले त्यसलाई दुरूस्त पार्ने कार्य गरिरहेको छ । नामावलीलाई शुद्ध र वास्तविक बनाएर अन्तिम मतदाता नामावली प्रकाशनको कार्यतालिका आयोगले राखेको छ ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छन् । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरूष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले दर्ता भइरहेका नाम थपिएपछि अन्तिम मतदाता नामावाली र संख्या तय हुने छ । २०७९ को निर्वाचनको समयमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७७ मतदाता कायम थिए ।

आयोगका सह प्रवक्ता तथा सूचना अधिकारी सुमन घिमिरेले थप हुने मतदाता संख्याले मतदान केन्द्रको संख्या पनि निर्धारण हुने बताउँछन् । एक हजार मतदाता बराबर एक मतदान केन्द्र आयोगले निर्धारण गरेको छ । कुनै मतदान केन्द्रमा त्यो भन्दा बढी संख्या भए त्यसै अनुसार मतदान केन्द्रको पनि पुनरावलोकन हुने उनले बताए । अहिले देशभर १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully