सुरक्षा प्रमुखहरूसँग गृहमन्त्रीले गरे चार विषयमा छलफल

नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिमबारे समेत बैठकमा छलफल भएको थियो ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The Home Minister discussed four issues with the security chiefs

काठमाडौँ — गृह मन्त्रालयमा बसेको सुरक्षा प्रमुखहरूको बैठकमा चार सुरक्षा चुनौतीमाथि छलफल भएको छ ।

बिहीबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरीको काउन्टरमा परेको निवेदनले ल्याउने चुनौतीसहितका विषयमा छलफल भएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार दिउँसो नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलाई बोलाएका थिए ।

त्यसक्रममा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए । 

‘निर्वाचन मिति घोषणा भएको अवस्थामा सुरक्षामा आइपर्न सक्ने चुनौती, जेन-जीका नाममा विभिन्न समूहले गर्न खोजिरहेको प्रदर्शनका विषयमा समेत कुराकानी भएको छ,’ उनले भने, ‘नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिमबारे समेत कुरा भएको छ ।’ 

कान्तिपुर

Link copied successfully