ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो 

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको भनेको छ । 

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The complaint commission against Oli and the writer sent the police back

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता पठाइदिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको भनेको छ । 

काठमाडौं प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गरेको थिएन । जाहेरी लिएर सिधै आयोगमा पठाइदिएको थियो ।

फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । 

‘फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूले अख्तियारी प्रदान गरेको विदितै छ,’ उनले भनेका छन्, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२/०६/२१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने ।’ 

उल्लेखित आयोगको विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भनिएको थियो । आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको भनिएको थियो । तीन दिनअघि ओली र लेखकविरुद्ध जाहेरी लिएर सुधन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । 

बरु त्यसपछि बालुवाटार र सिंहदरबारमा जाहेरीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा सुरक्षा निकायका प्रमुखहरुले संयमता अपनाउन सरकारलाई सुझाव दिएका थिए । पछि बालेन शाह र गुरुङसमेतलाई विपक्षी बनाउँदै एमाले निकट अनेरास्ववियूले समेत काउन्टर जाहेरी प्रहरीमा दिएका थिए । 

एमाले अध्यक्ष ओलीसमेत बिहीबार आफूलाई पक्राउ कसरी गर्ने भन्ने विषयमा रातभर छलफल भएको बताएका थिए । र, पहिल्यै आफूहरुले जेलनेल भोगिसकेको भन्दै अहिलेको स्थिति कुनै नयाँ नभएको जिकिर गरेका थिए । उनले देश र सार्वभौमसत्तामाथि हमला भइरहेको समेत दाबी गरेका थिए ।

कान्तिपुर

Link copied successfully