बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौवटा राजमार्ग तथा सडक खण्ड पूर्णरूपमा अवरुद्ध भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Nine highways in three provinces were blocked due to floods

काठमाडौँ — देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढीपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् ।

अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् ।

यस्तै बाढीपहिरोले इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित बीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित बीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै बकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully