निर्वाचन आयोगले छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 

आयोगले असोज ३० गते दलहरूलाई छलफलका लागि बोलाएको छ ।

आश्विन २२, २०८२

राजेश मिश्र

The Election Commission called the political parties for discussion

What you should know

काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग छलफलको तयारी गरेको छ । आयोगले असोज ३० गते दलहरूलाई छलफलका लागि बोलाएको छ ।

आयोगका सचिव महादेव पन्थले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा छलफलका लागि दलहरूलाई आयोगमा आमन्त्रणा गरिएको बताए । आयोगले बुधबार २९ राजनीतिक दललाई पत्राचार गरेको छ । १ सय २२ दल आयोगमा दर्ता छन् । सबै दललाई एकै पटक बोलाएर छलफल गर्न असुविधा हुनसक्ने भन्दै आयोगले पहिलो चरणमा विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई बोलाएको हो । स्थानीय तहमा वडा सदस्यमा पनि प्रतिनिधित्व गराएका दलहरूको पहिचान गरी छलफलमा बोलाइएको छ ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यस्तै, राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरुका लाग २० माघमा चुनाव हुने कार्यसूची छ । २० फागुनमा राष्ट्रिय सभामा १९ सदस्यको कार्यकाल पूरा हुँदैछ । निर्वाचन कानुनअनुसार पदावधि सकिनुभन्दा एक महिना अगावै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिनुपर्छ ।

सचिव पन्थीले राष्ट्रिय सभा चुनावको मिति पूर्वअनुमानित रहेकाले त्यसको तयारीमा पनि आयोग जुटेको बताए । राष्ट्रिय सभा रिक्त हुने १९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुने छ । राष्ट्रपतिबाट मनोनीत एक जना सदस्यको पदावधि सकिँदैछ । उक्त स्थानको पदपूर्ति त्यही प्रक्रियाबाट हुनेछ ।

आयोगले प्रतिनिधिसभा, राष्ट्रिय सभा चुनाव र विविध शीर्षकमा छलफलको एजेन्डा दिएर दलहरूलाई बोलाएको हो । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभाको विघटन गरिएर २१ फागुनमा नयाँ चुनावको घोषणा गरिएको थियो । चुनाव घोषणा भएको झन्डै एक महिना भइसक्दासम्म पनि सरकार वा आयोगले राजनीतिक दलहरूसँग छलफल नगरेको विषय आलोचित थियो ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully