महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्नका लागि आवश्यक प्रमाण नदेखिएकोले थप ल्याउन जिल्ला अदालत काठमाडौंले भनेको हो ।
काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्धको रिटमा थप प्रमाण मगाउने आदेश गरेको छ । बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुनुपर्ने दाबी गरिएको निवेदनमा अदालतबाट यस्तो आदेश भएको हो ।
बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुनका लागि आवश्यक प्रमाणहरू नदेखिएकोले थप ल्याउन अदालतले भनेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेस गर्न आदेश गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । निवेदकलाई मौखिक रूपमा यस्तो आदेश गरिने न्यायिक अभ्यास अनुसार पाठकलाई पनि आदेश गरिएको हो ।
काठमाडौं जिल्ला अदालतमा पेस भएको रिट निवेदनमा सुनुवाई गर्दै मंगलबार थप प्रमाण पेस गर्न आदेश जारी भएको हो । शोभा पाठकले बस्नेतविरुद्ध रिट दर्ता गरेकी थिइन् । उनले बस्नेतलाई जबरजस्ती करणीसहित अपहरणलगायत अभियोगमा अनुसन्धान हुनुपर्ने माग गर्दै रिट निवेदन पेस गरेकी थिइन् ।
पाठक र बस्नेतबीचको विवाद यसअघि जिल्ला अदालत हुँदै उच्चसम्म पुगेर टुंगिएको थियो । पाठकले राज्यशक्तिको आडमा अनुसन्धान नै नभएको दाबी गरी नयाँ पक्राउ पुर्जी जारी गर्न माग गरी रिट पेस गरेकी थिइन् ।
