नेम्वाङको माग- 'इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरौं, सुकिलुम्बा विमानस्थल नियमित सञ्चालन गरौं'

राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसका आधारमा तत्काल 'संकटग्रस्त क्षेत्र' घोषणा गर्न उनको माग छ ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Nemwang's demand- 'Let's declare Ilam as a crisis zone, let Sukilumba airport operate regularly'

What you should know

काठमाडौँ — निवर्तमान सांसद सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बा विमानस्थलमा नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।

अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको उल्लेख गर्दै उनले इलामलाई 'संकटग्रस्त क्षेत्र' घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

'पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा तत्काल 'संकटग्रस्त क्षेत्र' घोषणा गर्न उनको माग छ । 

'जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु,' उनले फेसबुकमा लेखेका छन् । नेम्वाङ इलाम क्षेत्र नम्बर २ का सांसद हुन् ।

उनले गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायतलाई भेटी इलामका विपद्पीडितलाई उपलब्ध गराउनुपर्ने राहत, क्षतिपूर्तिका बारेमा जानकारी गराएका थिए ।

इलाममा अविरल वर्षापछि शनिबारको भीषण पहिरोमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । पहिरोले सयौं घर जोखिममा छन् भने र सिंगो बस्ती बगाउँदा दर्जनौं परिवार विस्थापित भएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully