बारा जिल्ला अदालतका न्यायाधीश ढकाल छानबिनका लागि न्याय परिषद् तानिए

मंगलबार अदालत खुलेलगत्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भोला ढकाललाई बारमा कामकाज गर्न रोक लगाउने गरी छानबिनका लागि न्याय परिषद्‌मा तानेको परिषद् स्रोतले जनाएको छ ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Judge Dhakal of Bara District Court was pulled to the Judicial Council for investigation

काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बाराका जिल्ला न्यायाधीश भोला ढकाललाई न्याय परिषद्‌मा तानेका छन् । न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा कैफियत गरेको उजुरी परेपछि उनलाई परिषद्‌मा छानबिनका लागि काजमा बोलाइएको हो ।

मंगलबार अदालत खुलेलगत्तै प्रधानन्यायाधीश राउतले ढकाललाई बारमा कामकाज गर्न रोक लगाउने गरी छानबिनका लागि परिषद्‌मा तानेको परिषद् स्रोतले जनाएको छ । 

यसअघि बारा जिल्ला अदालत बार एसोसिएसनले ढकालको आदेशमा गम्भीर असहमति जनाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।

के थियो विवाद ?

बारा जिल्ला अदालतका प्रमुख न्यायाधीश भोला ढकालले जेन–जी आन्दोलनलगत्तै अदालतमा नियमित सुनुवाइ नै नभएको अवस्थामा फरार व्यक्ति उपस्थित भएपछि धरौटीमा रिहा गर्न आदेश गरेपछि विवादमा आएका थिए । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मौकामा फरार रहेका भारतीय नागरिक अशोककुमार सिंहा र नेपालको समेत नागरिक रहेकी उनकी छोरी निवेदिका सिंहालाई धरौटी माग गरी थुनामुक्त गर्ने आदेश गरेका थिए । 

तर अदालतमा उपस्थित गराइएका व्यक्तिहरू अशोककुमार सिंहा र निवेदिका सिंहा नभई डमी व्यक्ति खडा गरिएको र उनीहरूको आधार कार्डहरू मात्रै हेरेर उनीहरूलाई धरौटीमा छाडिएको आरोप छ । साथै प्रतिवादीहरूसँग मोटो रकम लिएर धरौटीमा छाड्न आदेश दिएको आरोप लागेको थियो ।

कानुनमा एक वर्षभन्दा बढी कैद सजाय हुन सक्ने विदेशी नागरिकलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था छ । 

बारले आफ्नो विज्ञप्तिमार्फत न्यायाधीश ढकालले कानुन विपरीतको आदेश गरेको कारण न्यायालयप्रतिकै आस्थामा गम्भीर संकट आइपरेकाले उनको इजलास नै बहिष्कार गर्ने बताएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully