कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटी निर्वाचनका लागि सहज राजनीतिक वातावरण बनाउन सर्वदलीय छलफल आवश्यक रहेको बताएका हुन् ।
काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनको वातावरण निर्माणका लागि सर्वदलीय बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।
सोमबार शीतल निवास पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिसँग भेटी निर्वाचनका लागि सहज राजनीतिक वातावरण बनाउन सर्वदलीय छलफल आवश्यक रहेको बताएका हुन् ।
कांग्रेस नेताहरूले अहिलेको राजनीतिक परिस्थितिमा निर्वाचनका लागि अनुकूल वातावरण नबनेको भन्दै सर्वदलीय बैठकमार्फत दलहरूबीच सहमति जुटाउन राष्ट्रपतिले पहल गरिदिन अनुरोध गरेका थिए।
जवाफमा राष्ट्रपति पौडेलले कार्यकारी प्रमुखको हैसियतले सर्वदलीय बैठक बोलाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएको बताए।
यता, प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक आफूले नबोलाउने बरु निर्वाचन आयोगलाई सबै राजनीतिक दलसँग छलफल गर्न निर्देशन दिएको बताएकी छन्।
मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले पुराना, नयाँ र अन्य सरोकारवालासँग आवश्यक छलफल गर्न निर्वाचन आयोगलाई आग्रह गरेको एक मन्त्रीले जानकारी दिए।
