पीडित परिवारको कानूनी उपचारका लागि राज्यका निकायले तदारुकता देखाए पनि उनीहरूको अहिलेको दैनिकी भने कष्टकर बितिरहेको छ। स्थानीय प्रशासन र नगरपालिकाले सामान्य राहत दिए पनि पीडितहरू भत्किएकै घरमा छानोमाथि त्रिपाल राखेर रात काट्न बाध्य छन् ।
What you should know
सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–८ अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका पाँच पासवान परिवारलाई गत शुक्रबार दुर्व्यवहार गर्दै उनीहरुको घरमा तोडफोड र लुटपाट भयो ।
आखिर यो घटना के हो ? घटनापछि राज्यका निकायले के गरिरहेका छन् ? पीडितको अवस्था के छ ? यी जिज्ञासालाई मेटाउने गरी प्रश्नोत्तर शैलीमा यो सामग्री प्रस्तुत गरेका छौँ।
यो घटना के हो ?
गत असोज १ गते, जुन दिन विश्वकर्मा पूजा थियो । सोही अवसरमा साँझ गाउँकै गुद्री बजारमा आर्केष्ट्रा ल्याइएको थियो । पीडित परिवारका अनुसार, गाउँकै राजपुत समुदायका प्रभास सिंहलगायत उनको समूहले भाटा लिएर उभिएका मानिसलाई बसाउने क्रममा पासवान टोलका राजकुमार पासवानलाई अश्लील गाली दिए। उनीहरूबीच भनाभन हुँदै विवाद पर्यो।
विवादकै क्रममा प्रभास समूहले गाउँबाट उठीबास लगाउने धम्की दिएपछि दलित समुदायले असोज ३ मा इलाका प्रहरी कार्यालय, मिर्चैयामा उजुरी दिए । तर, पटक-पटक समय लिएर पनि छलफलमा उपस्थित नभएका विपक्षीले पछिल्लोपटक असोज २१ गतेका लागि छलफलको समय लिएका थिए । तर, आफूहरू छलफलमा उपस्थित नहुने र दलित भएर ठूलो बन्न खोजेको भन्दै धम्की दिँदै आएका विपक्षीहरू शुक्रबार घर तोडफोडमा उत्रिए ।
करिब ५० जनाको समूहमा आएका उनीहरूले दुर्व्यवहार गर्दै आफ्नोसहित दाजुभाइ रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच जनाको घर भत्काइदिएको पीडित राजकुमार पासवानले बताए । घरमा भएका अन्नपात, लत्ताकपडा, गरगहना, नगदलगायत पनि उनीहरूले लुटेर लगेको उनको भनाइ छ ।
घटनापछि के हुँदैछ ?
घटनापछि प्रहरीले शनिबार १३ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा गर्दा गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित कल्याणपुर ८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।
जसमध्ये वडाध्यक्ष यादवसहित गणेश र कैलाशलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी गर्दैछ । उनीहरूलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए । अहिले एउटै शिर्षकमा १३ जनाविरुद्ध मात्रै जाहेरी दर्ता भए पनि अनुसन्धनका क्रममा मुद्दा र व्यक्ति बढ्न सक्ने उनले बताए ।
यसमा वडाध्यक्ष कसरी तानिए ?
यसमा वडाध्यक्ष यादवले उनीहरूलाई उक्साउने काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । असोज ५ मा वडाध्यक्ष यादवले कल्याणपुर नगरपालिकालाई दलित समुदाय बस्दै आएको जग्गा सार्वजनिक भएको र उक्त जग्गा खाली गराइदिन लेखेको पत्र पनि प्रहरीले प्राप्त गरेको छ ।
तर, दलित समुदाय सुकुम्बासी भएका कारण पत्र कार्यान्वयन नगरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बेवास्ता गरेपछि वडाध्यक्ष यादवले दलितको घर तोडफोड गर्ने विपक्षीहरूको योजनामा आन्तरिक रुपमा सहयोगी भूमिका खेलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
अहिले पीडितको अवस्था के छ ?
पीडित परिवारको कानूनी उपचारका लागि राज्यका निकायले तदारुकता देखाए पनि उनीहरूको अहिलेको दैनिकी भने कष्टकर बितिरहेको छ । शनिबार पीडित परिवारलाई भेट्न पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगरपालिकाको टोलीलगायतले पीडितलाई तत्कालका लागि खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएका थिए ।
तर, यसले सामान्य राहत दिए पनि पीडितहरू भत्किएकै घरमा छानोमाथि त्रिपाल राखेर रात काट्न बाध्य छन् । ‘न बस्ने ठाउँ छ, न पकाउने ठाउँ,’ पीडित सञ्जुदेवी पासवानले भनिन्, ‘साना साना बालबच्चा छन्, कतिखेर घरमा के आइदिने हो ठेगान छैन, रातमा एक जना जागा नै बस्छौं ।’
आफूहरूलाई दीर्घकालीन समाधानको आवश्यकता रहेको पीडित बिन्दे पासवानले बताए । ‘हामी गरिब मान्छे हौं, आफैँले घर बनाउन सक्ने सामर्थ्य छैन,’ उनले कान्तिपुरसित भने, ‘यस्तो घरमा धेरै दिन बस्न निकै गाह्रो छ, हामीलाई दीर्घकालीन समाधानको आवश्यकता छ ।’
घटनास्थल पुगेका दलित अगुवाहरूले के भने ?
घटनाबारे बुझ्न आइतबार घटनास्थलमा आएका जिल्लाका दलितका अगुवाहरूले यसको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सामाजिक अभियन्ता मनोजकुमार पासवानले राज्य र राज्यका निकायकै असक्षमताका कारण दलितमाथि दमनका घटना नरोकिएको भन्दै यस घटनामा पनि कुनै चलखेल भए आफूहरू सशक्त संघर्षमा जाने चेतावनी दिए ।
‘यस्ता घटना पटकपटक हुन्छन्, तर दोषीलाई कारबाही गर्नुको साटो राज्यका निकाय उनीहरूकै प्रभावमा पर्छ, त्यसैले निरन्तर यस्ता घटना भइरहेका छन्,’ उनले कान्तिपुरसित भने, ‘यो घटनामा पनि कुनै किसिमको चलखेल भयो भने हामी सशक्त प्रतिवाद गर्छौं, संघर्षमा उत्रन्छौं ।’
