विपद् व्यवस्थापनमा जेन-जी पनि

गृह मन्त्रालयका अनुसार जेन–जी अगुवा सुदन गुरुङ, युजन राजभण्डारी, भावना राउतलगायतलाई बोलाइएको थियो । उनीहरूसँग गृहमन्त्री ओमप्रकाश अर्याल आफैंले छलफल गरेका थिए ।

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

Also Gen-G in Disaster Management

What you should know

काठमाडौँ — देशभरि बाढी र पहिरोको जोखिम रहेका बेला गृह मन्त्रालयले प्रतिकार्यका लागि जेन–जीलाई समेत परिचालन गरेको छ । शुक्रबार बेलुकीदेखि शनिबारसम्म जिल्लासँग समन्वयलगायतका कार्यमा जेन–जी अगुवालाई प्रयोग गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा भई बाढी र पहिरोको जोखिम रहेको बताएका बेला मन्त्रालयका अधिकारीले केही जेन–जी अगुवालाई सिंहदरबार बोलाएका थिए । गृह मन्त्रालयका अनुसार जेन–जी अगुवा सुदन गुरुङ, युजन राजभण्डारी, भावना राउतलगायतलाई बोलाइएको थियो । उनीहरूसँग गृहमन्त्री ओमप्रकाश अर्याल आफैंले छलफल गरेका थिए । 

‘यो सरकारलाई कुनै पनि हालतमा कमजोरी गर्ने छुट थिएन, त्यसैले प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न सबैको सहयोग लिएका हौं,’ गृहमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘त्यही क्रममा पहिल्यैदेखि जेन–जीका तर्फबाट छलफलमा सहभागी हुनुभएकाहरूलाई समेत यसमा जोडेका थियौं ।’

जेन–जीको सहभागितापछि सामाजिक सञ्जालमार्फत आएका सूचनामा तत्काल परिचालित हुन सहयोग पुगेको ती अधिकारीले बताए । पाँचथर दुर्घटनाबारेको खबर युवा सागर ढकालले सामाजिक सञ्जालमा हालेका थिए । उनले त्यो विवरण नराखेको भए अनकन्टार ठाउँमा भएको घटनाबारे ढिला सूचना प्राप्त हुने अनुमान गृहका अधिकारीहरूले गरेका छन् । ढकालले सूचना राख्नेबित्तिकै जिल्ला प्रशासन कार्यालय, पाँचथरका अधिकारीहरू तत्कालै परिचालित भए । 

‘गृह मन्त्रालयबाट समेत समन्वय भइरहेको थियो, समयमै सूचना पाउँदा उद्धार गर्न सहज भयो,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने, ‘२ जनालाई सैनिक होलिकोप्टर मगाएर उद्धार गर्‍यौं ।’ यस्ता सूचना समन्वयको काममा मन्त्रालयले जेन–जी अगुवालाई खटाएको थियो । मन्त्रालयमा बोलाइएकामा स्वयंसेवी समूह १०० ग्रुपसहितका जेन–जीसमेत छन् ।

‘गृह मन्त्रालयमा विभिन्न जिल्लाबाट फोन आएका आयै थिए, समन्वय गर्नुपर्ने कामहरू धेरै भए,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही कारण शनिबार रातभर बढी जोखिम हुने ठाउँहरूमा सबैलाई परिचालन गर्न खोजेका थियौं ।’ शनिबार अपराह्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सुदन गुरुङसमेत पुगेका थिए ।

उनले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश भट्टसमेतलाई विभिन्न किसिमका निर्देशनहरू दिएको भिडियो आफैंले सामाजिक सञ्जाल फेसबुकमा समेत अपलोड गरेका थिए । एम्बुलेन्सलाई पनि प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले भनेका थिए, ‘कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्योल गर्नुपर्‍यो । त्यसपछि उद्धार गर्नुपर्‍यो ।’ 

प्राधिकरणको बैठकमा सुदनको उपस्थिति र उनले निर्देशन दिएको विषयलाई लिएर आलोचनासमेत भएको छ । तर गृहमन्त्री ओमप्रकाश अर्यालचाहिँ गुरुङलाई विपद्‌मा उद्धार गरेको अनुभव भएका आधारमा विज्ञका रूपमा बोलाइएको र उनले पनि त्यही रूपमा अनुभव सुनाएको दाबी गरेका छन् ।

‘शनिबार विपद् प्राधिकरणमा बैठक थियो । त्यहाँ उनलाई पनि बोलाइएको थियो । उनले निर्देशन दिएको होइन । त्यो खाली विपद्को सम्बन्धमा उनको विज्ञता भएकाले बोलाइएको हो,’ अर्यालले कान्तिपुरसित भने, ‘अरूभन्दा उनको बढी एक्सपर्टिज छ । त्यसैको उपयोग गर्ने उद्देश्यले छलफलमा उनले आफ्नो कुरा राखेको रूपमा सरकारले लिएको छ । जोसँग बढी अनुभव छ, त्यो अनुभवलाई पनि नेपाल सरकारले ग्रहण गर्छ ।’

तत्काल परिपूर्ति गर्नुपर्ने कुरा र प्राथमिकताहरू के हुन् भनेर नागरिक र जेन–जीका प्रतिनिधिहरूसमेतलाई राखेर छलफल गरिएको भन्दै उनले यसमा विवाद गर्न आवश्यक नभएको तर्क गरे ।

विपद्मा आफूहरूले काम गरेको १० वर्ष भइसकेको भन्दै सुदनले पनि कान्तिपुरसँग भनेका छन्, ‘हामीले आफैं गृहमन्त्रीलाई फोन गरेर विपद्का बेला समस्या हुन सक्छन् भनेर जानकारी गराएका थियौं, त्यहीअनुसार अहिले विपद्को पनि बैठक हुन लागेको छ, तपाईंहरू पनि आउनू भनेर बोलाउनुभएको थियो,’ उनले भने, ‘मैले भिडियोमा निर्देशन दिएँ भन्ने विषयलाई मात्रै लिएर विवाद गर्न भएन । म विगतमा पनि यसैगरी विपद्मा सहभागी हुने गरेको छु । मिलाएर बोल्न जानिन हुँला, त्यो छुट्टै कुरा भयो ।’

त्यस किसिमको बैठकमा आफूहरू पहिलो पटक नबसेको भन्दै उनले आफूसँग भएको ज्ञान मात्र बाँडेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully