लुक्लामा एकैदिन ३ सय उडान, भित्रिए १६ सय पर्यटक

आजदेखि मौसममा सुधार आएसँगै काठमाडौं र मन्थलीबाट सीता, तारा र समिट एयरले उडान गरेका हुन् ।

आश्विन २०, २०८२

भानुभक्त निरौला

300 flights in one day, 1600 tourists entered Lukla

सोलुखुम्बु — सगरमाथा क्षेत्रनजिकको विमानस्थल लुक्लामा मौसम खुल्नासाथ एकैदिन ३ सय हवाई उडान भएको छ ।शरद ऋतुको पर्यटकीय सिजन सुरु भएपछि सोमबार एकैदिन उच्च संख्यामा उडान भएको हो ।

सोमबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म लगातार १२ घण्टा उडान हुँदा करिब ३ सय उडान भएको लुक्ला विमानस्थलले जनाएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सोमबार यस वर्षको शरदीय सिजनकै सबैभन्दा धेरै उडान भएको हो ।

आजदेखि मौसममा सुधार आएसँगै काठमाडौं र मन्थलीबाट सीता, तारा र समिट एयरले उडान गरेका हुन् ।  दिनभर विमानस्थल व्यस्त रहँदा लुक्लामा उडान गर्ने हवाई जहाज तथा हेलिकप्टर दुवैले पूर्ण क्षमतामा उडान भरेका छन् ।

हवाई मार्गबाट मात्रै सोमबार १६ सयको संख्यामा पर्यटक खुम्बु प्रवेश गरेका छन् । तीमध्ये हवाईजहाजमार्फत १३ सय ५० र हेलिकप्टरमार्फत २ सय ५० को हाराहारीमा पर्यटक लुक्ला झरेका छन् । करिब १६ सय पर्यटक एकैदिन लुक्ला ओर्लिएको शरदीय सिजनको पहिलो दिन हो भने मौसम खुल्नेबित्तिकै त्यहाँ रहेका सोही संख्यामा पर्यटकहरू बाहिरिएका छन् ।  

भानुभक्त

Link copied successfully