राजधानी काठमाडौँ जोड्ने राजमार्गको अवस्था के छ ? 

पछिल्लो २४ घण्टादेखि बन्द छन् राजधानी काठमाडौँ आउने मुख्य सडक

आश्विन १९, २०८२

विवेक पोख्रेल

What is the condition of the highway connecting the capital Kathmandu?

काठमाडौँ — तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले राजधानी काठमाडौँलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरू अवरुद्ध बनेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आइतबार बिहानसम्म काठमाडौँ प्रवेश गर्ने सडक बन्द छन्।

भक्तपुरको साँगा, कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा र टिका भैरवमा पहिरोका कारण आवात जावत बन्द छ।

सितापाईलाको धार्केमा पनि ठुलो खोला पहिरोका कारण सडक बन्द छ । कपन आकाशे धाराबाट बालुवाखानी जाने बाटो बन्द रहेका छन्। यता फर्पिङ सिस्नेरी अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दोधारे पुलमा बाढीले क्षति पुर्‍याएको छ । 

काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुखैमा मात्र हैन, चिनियाँ नाका जोड्ने अरनिको र पूर्वलाई काठमाडौँसँग जोड्ने बिपी राजमार्ग पनि बन्द छन्। प्रवक्ता सुवेदीका अनुसार काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ माम्ती खोला र बुलढुंगामा पहिरोको कारण बिपी राजमार्ग बन्द छ । सोही सडकको  मंगलटार खोलाले पिप्ले, चौकीडाँडामा सडक कटान गरेको छ । 

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४, चार किलोमा सडक भासिएको छ भने धुलिखेलको खावा र ५४ किलोमा पहिरोको कारण सडक बन्द छ । हेटौँडा-भैँसे-नौबिसे सडकमा पनि अविरल वर्षका कारण ठाउँ-ठाउँमा पहिरो खसेको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको चितवन इच्छाकामना गाउँपालिका-५ तुइन खोला पुल पनि पहिरोका कारण राजमार्ग अवरुद्ध रहेको सुवेदीले जानकारी दिए । धादिङको बेनीघाटमा पनि पहिरो खसेपछि अहिले सडक बन्द छ ।  

सम्बन्धित अन्य समाचार

वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully