आरोही टासी लाक्पा शेर्पाद्वारा १ लाख अमेरिकी डलर बराबरका २ सय ५० टेन्टसहित राहत घोषणा
What you should know
काठमाडौँ — अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा विपद्का कारण देशका धेरै स्थानमा सडक, राजमार्ग र विमानस्थलहरूमा सयौं नागरिक अलपत्र परेका छन् ।
यस्तो अवस्थामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सबै सदस्य यातायात व्यवसायी, सञ्चालक, कर्मचारी तथा मजदुरहरूलाई राहत र उद्धारमा सक्रिय हुन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जारी गरेको सन्देशमा विपद्ग्रस्त र असहाय नागरिकलाई नि:शुल्क वा न्यूनतम भाडामा गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्न अनुरोध गरिएको छ । उनले यात्रुहरूको सुरक्षा, सहयोग र सहज आवागमनमा विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै आपतकालीन अवस्थामा एकअर्कासँग सहकार्य र समन्वय गरेर उद्धार तथा राहतमा हातेमालो गर्न सबै यातायात सञ्चालकलाई आग्रह गरेका छन् ।
यसैबीच महासंघका महासचिव डेकनाथ गौतमले पनि देशभरका सबै संघ, समिति, कम्पनी तथा यातायात क्षेत्रका पदाधिकारी, कर्मचारी र मजदुरहरूलाई वर्षाको कारण अलपत्र यात्रु र पीडितहरूलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् ।
उनले २०७८ असोज १७ देखि निरन्तर वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध र सेवासुविधा बाधित भएको भन्दै प्रत्येक यातायात संस्था र समितिले मानवीय सहयोगका कार्यमा जोड दिनुपर्ने बताएका छन् । महासंघका अनुसार यो अभियानले संकटको समयमा आमनागरिकलाई राहत पुर्याउने र यातायात क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नेछ ।
देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण धेरै ठाउँमा जनधनको ठूलो क्षति भएको बेला थामेलस्थित ‘फोट्टीन पीक्स आउटडोर’का संचालक तथा आरोही टासी लाक्पा शेर्पाले राहत सहयोगका लागि हात अघि सारेका छन् ।
शेर्पाले हालको कठिन समयमा तत्काल राहतका लागि २५० भन्दा बढी क्याम्पिङ टेन्टहरू र अन्य आवश्यक सामग्री उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् ।
उनले विपद्पीडित नागरिकको सहयोगका लागि १ लाख अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) बराबरको उपकरण निःशुल्क राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।
‘यदि कसैलाई तत्काल सहयोग आवश्यक छ भने कृपया म वा मेरो अफिस स्टाफलाई सम्पर्क गर्नुहोस्,’ शेर्पाले भने, ‘हामी सबै मिलेर यो कठिन समय पार गरौं र एक-अर्कालाई साथ दिऔं ।’
उनले देशभरका सबै नागरिकलाई सुरक्षित रहन र एक-अर्कालाई सहयोगको भावना फैलाउन आग्रह गरेका छन्।’ यो समय एकताको हो, हामी सबै मिलेर नेपाललाई फेरि उठाउनेछौं,’ उनले बताएका छन् ।
