काठमाडौंको आकाश खुल्यो, आन्तरिक उडान पनि सञ्चालनमा

बिहानैदेखि विमानस्थलमा यात्रुहरूको चहलपहल बढेको छ । आजका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन् ।

आश्विन १९, २०८२

सुरज कुँवर

The skies of Kathmandu have opened, domestic flights are also in operation

What you should know

काठमाडौँ — काठमाडौंको आकाश बिहानैदेखि खुलेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आन्तरिक उडान पनि सञ्चालनमा आउन थालेका छन् ।

आइतबार बिहान ७:३१ बजे पहिलो उडान यती एयरलाइन्सले भद्रपुरका लागि गरेको थियो। उक्त उडानपछि काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको आन्तरिक ट्रमिनलका एक व्यवस्थापकले जानकारी दिए।

हाल विमानस्थल क्षेत्रको दृश्यता ८ किलोमिटर रहेको छ, जुन भिजुअल फ्लाइट रुल (भीएफआर) अन्तर्गतका उडानका लागि अत्यन्त अनुकूल मानिन्छ। काठमाडौं र आसपास बिहानैदेखि पानी परेको छैन ।

शनिबार साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय उडानहरू खराब मौसमका कारण बंगलादेश र भारततर्फ मोडिएका थिए। तीमध्ये सबै उडानहरू राति ढिलो गरी काठमाडौं फर्किसकेका छन्। 

तर जापानबाट आएको नेपाल एयरलाइन्सको वाइडबडी विमान भने नयाँ दिल्ली मोडिएको थियो। सो विमान आज बिहान १०:१० बजे काठमान्डौंमा  अवतरण गर्ने तालिका रहेको छ।

विमानस्थलका अधिकारीहरूका अनुसार शनिबार बिहान ६:०० बजे सुरु भएको उडान सञ्चालन आइतबार बिहान ५:२४ बजेसम्म, करिब २४ घन्टा निरन्तर रूपमा जारी थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबारका लागि १४५ वटा आन्तरिक उडान तय गरिएको थियो, तर केवल ७ वटा मात्र सम्पन्न भएका थिए। १३८ उडानहरू मौसम प्रतिकूल रहेको कारण देखाउँदै रद्द गरिएको थियो। ती ७ वटा विमानहरू भद्रपुर, विराटनगर, भैरहवा र पोखरामै रोकिएका थिए।

आज आइतबारका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन्। तीमध्ये बुद्ध एयरका ७२ उडान सबैभन्दा बढी रहेका छन्। त्यसपछि यती एयरलाइन्सका ३२, श्री एयरलाइन्सका २६, र तारा एयरका ९ उडान रहेका छन्। सीता एयर, समिट एयर, र नेपाल एयरलाइन्सले १/१ वटा उडान सञ्चालन गर्ने कार्यक्रम छ।

तीमध्ये ३ वटा पर्वतीय उडान तय भएका छन् । जस्मा २ वटा बुद्ध एयर र १ वटा यती एयरलाइन्सका छन् । 

आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully