इलामका विभिन्न ठाउँमा पहिरो जाँदा २८ जनाको मृत्यु [अपडेट]

माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

28 killed in landslides in different places of Ilam [Update]

काठमाडौँ — इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।

यस्तै, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।

यसैबीच, माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । ‘गम्भीर घाइतेहरुलाई लिएर आएको हेलिकोप्टर धरान र विराटनगरमा अवतरण हुन सकेन, त्यसपछि इटहरीमा अवतरण गरायौं,’ उनले कान्तिपुरसँग भने, ‘इटहरीबाट स्थलमार्ग हुँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully