बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।
काठमाडौँ — लगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।
यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ।
उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
