पाँचथर जिप दुर्घटना : घाइतेहरूको पहिचान खुल्यो

पाँचथरको कुम्मायक–३ कात्तिकेमा भएको जिप दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । 

आश्विन १८, २०८२

लक्ष्मी गौतम

Panchthar Jeep accident: The identity of the injured has been revealed

पाँचथर — पाँचथरको कुम्मायक–३ कात्तिकेमा जिप दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको छ । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । 

तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा शनिबार मध्याह्न मे १ ज ३०५५ नम्बरको बलेरो सडकदेखि तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर घाइते भएकाहरूमा ताप्लेजुङको मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङ कालिखोलाका–७ वर्षीय सन्तोष लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन–५ का २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला–४ ताप्लेजुङका २९ वर्षीय सञ्जुहाङ लिम्बूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान गर्ने क्रम जारी रहेको भन्दै नाम खुलाएको छैन । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाबाट धरानका लागि छुटेको जिप शनिबार मध्याह्न पाँचथरको कुम्मायक–३ स्थित तमोर कोरिडोरको कात्तिके खण्डमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा ज्यान गुमाएका ६ जनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।

घाइतेहरूलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तामाङले बताए ।  घाइते अधिकांशको टाउको, ढाड र हात खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीहरुले बताए ।

जिप चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको थियो ।  दुर्घटनाको के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully