बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै मन्त्री घिसिङले सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सााझदेखि आइतबार मध्यान्हसम्म भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा भारी वर्षको पूर्वानुमान गरेको उल्लेख गर्दै मन्त्री घिसिङले सतर्क भएर यात्रा गर्न सबैलाई आग्रह गरेका हुन् ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका विषयमा मन्त्री घिसिङले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिाचाइ विभाग, जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग जानकारी लिई सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बंगालको खाडीबाट भारतको उडिसा, झारखण्ड हुँदै नेपालतर्फ भित्रिएको प्रणालीबाट अहिले वर्षा भइरहेको र सोमबारबाट पूर्वतर्फबाट प्रणाली बाहिरिने बताए ।
जोशीले यस वर्षको प्रणाली पोहोरकोजस्तै ढाँचाको रहेकाले यसबाट आउनसक्ने विपद्का बारेमा तयारी अवस्थामा रहनु पर्ने उल्लेख गरे । उनले सोमबार बिहानसम्म उच्च सर्तकता अपनाउनु पर्ने बताए ।
सडक विभागका महानिर्देशक विजय जैसी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बाढी, पहिरो र डुवानबाट आउन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको जानकारी गराए ।
