नेपाल वायुसेवा सञ्चालक संघ, नेपाल पर्वतारोहण संघ र नेपाल राफ्टिङ एसोसिएसन (नारा)ले विपद्को समयमा आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरी आमसर्वसाधारणलाई नि:शुल्क सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
What you should know
काठमाडौँ — हाल देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षापछि उत्पन्न विपद् परिस्थितिमा सर्वसाधारणको उद्धार र सहयोगका लागि नेपालका पर्यटनसँग सम्बन्धित तीन संस्थाले नि:शुल्क उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
नेपाल वायुसेवा सञ्चालक संघ, नेपाल पर्वतारोहण संघ र नेपाल राफ्टिङ एसोसिएसन (नारा)ले विपद्को समयमा आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरी आमसर्वसाधारणलाई नि:शुल्क सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीका अनुसार, संघका ११ सदस्य हेलिकप्टर कम्पनीका करिब ३० वटा हेलिकप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् । 'काठमाडौं उपत्यकाभित्रका विपदजन्य घटनामा सदस्य कम्पनीहरूले नि:शुल्क हवाई उद्धार सेवा प्रदान गर्ने निर्णय गरिएको छ,' अध्यक्ष कार्कीले भने । संघले यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न पत्राचारसमेत गरेको जानकारी दिएका छन् ।
त्यसैगरी नेपाल पर्वतारोहण संघ (एनएमए)ले पनि विपद् व्यवस्थापनका लागि ललितपुर प्रहरी परिसरको समन्वयमा उच्च प्रशिक्षित गाइडहरूको टोली परिचालन गरेको छ। संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार, काठमाडौं उपत्यकाभित्र उद्धारका लागि संघका गाइडहरू तयारी अवस्थामा छन् । 'भारी वर्षा अझै केही दिन जारी रहने भएकाले सम्भावित जोखिमका क्षेत्रहरूमा हाम्रो टोली तत्पर छ,' शेर्पाले भने ।
संघले जनसाधारणलाई आवश्यक परेमा फेसबुक पेजमा प्रदान गरिएको सम्पर्क नम्बर वा सूचनामार्फत तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
पर्यटन क्षेत्रका तीन संस्थासँगै नेपाल राष्ट्रिय पर्वतारोहण पथपर्दशक संघले पनि आफ्ना दक्ष गाइडहरू परिचालन गरेको जनाएको छ ।
यसैबीच, नेपाल राफ्टिङ एसोसिएसन (नारा)ले नदीजन्य विपद्मा उद्धार र सहयोगका लागि मातहतका सबै कम्पनीहरू तयारी अवस्थामा रहेको जनाएको छ । नारा अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार, काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा राफ्टिङ बोटमार्फत उद्धार आवश्यक परेमा संघका आधिकारिक फेसबुक पेज वा वेबसाइटमा उपलब्ध सम्पर्क नम्बरहरूमा सिधा सम्पर्क गर्न सकिनेछ ।
संघले उद्धार कार्यका लागि उपाध्यक्ष शुकबहादुर लामा, निवर्तमान अध्यक्ष शिव अधिकारी, पूर्वअध्यक्षहरू चन्द्रबहादुर दाहाल, महेन्द्रसिंह थापा, पूर्वउपाध्यक्ष मेघबहादुर आले, महासचिव चुरामणि अर्याल, सचिव देवराज जैशी र अध्यक्ष कमलबहादुर ठकुरीसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जनाएको छ ।
नाराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउनुपर्नेछ। आवश्यक परेमा हामी उद्धारका लागि सधैं तयार छौं ।'
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशका विभिन्न भागमा भइरहेको भारी वर्षा आगामी तीन दिनसम्म निरन्तर रहने सम्भावना छ । सम्भावित जोखिम र विपद् न्यूनीकरणका लागि उद्धार संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन् ।
