सामान्यतया, काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू राति १ बजेसम्म सञ्चालन हुने गर्छन् । तर आजको असामान्य मौसम र उडान अवरोधलाई व्यवस्थापन गर्न, विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालन समय बिहान ४ बजेसम्म विस्तार गर्ने निर्णय गरेको हो ।
What you should know
काठमाडौँ — खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका विमानहरू फर्किन थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अन्तर्राष्ट्रिय उडान सञ्चालन क्रमशः सामान्य बन्दै गएको छ। निरन्तर वर्षा र कम दृश्यता (भिजिबिलिटी) का कारण शुक्रबार दिउँसोदेखि अवरुद्ध हुँदै गएको विमानस्थलको उडान सञ्चालन साँझ ८ बजेपछि क्रमशः सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलस्थित टर्मिनल कार्यालयका अनुसार, दिउँसो वाराणसी मोडिएको एयर अरेबियाको विमान पहिलोपटक करिब ८:४५ बजे साँझ काठमाडौं अवतरण गर्न सफल भएको थियो।
त्यसपछि नेपाल वायुसेवा निगमको दिल्ली मोडिएको वाइडबडी विमान, सिङ्गापुर एयरलाइन्स र हङकङको क्याथे प्यासिफिक एयरवेजका उडानहरू पनि अवतरण गर्दै नियमित सञ्चालन पुनः सुरु भएको हो ।
दिउँसो सिमराबाट पस्ने अप्रोच मार्गको मौसम खराब हुँदा जहाजहरू भारत र बंगलादेश डाइभर्ट भएका थिए ।
यसैबीच, कुनमिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको विमान, जुन खराब मौसमका कारण ढाका मोडिएको थियो, भोलि अपराह्न ४:२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको विमानस्थलले जनाएको छ । साथै, कतार एयरवेजका दुई विमान — एक दिल्ली र अर्को कोलकाताबाट — पनि रातिसम्म काठमाडौं आइपुग्ने छन् ।
खराब मौसमका कारण एयर इन्डिया र इन्डिगोले आफ्ना दिल्ली र मुम्बई उडानहरू रद्द गर्दै विमान भारतमै रोकिएका छन्। यी उडानहरू आइतबार मात्रै सञ्चालन हुने जनाइएको छ।
त्यसैगरी, थाई एयर एसियाको विमान अवतरणमा असफल भएपछि भारत मोडिएको थियो । मौसम अझै सुधार नहुँदा सो विमान बैंकक फर्किएको विमानस्थलले जनाएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमान पनि क्रू ड्युटी समय १० घण्टा नाघेकाले काठमाडौं उडान रद्द गरी नयाँ दिल्लीमै रोकिएको छ। निगमका अनुसार, ती उडानका यात्रुहरूलाई होटलमा आवासको व्यवस्था गरिएको छ।
मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमले बेंगलुरु (भारत) तर्फको नियमित उडान रातिकै समयमा सञ्चालन गर्ने तयारी गरेको छ । विमानस्थलका अधिकारीहरूका अनुसार, बिहान करिब २,००० मिटरमा सीमित दृश्यता बेलुकीसम्ममा ३,००० मिटरमा सुधारिएपछि उडान सञ्चालन सहज बनेको छ ।
सामान्यतया, काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू राति १ बजेसम्म सञ्चालन हुने गर्छन् । तर आजको असामान्य मौसम र उडान अवरोधलाई व्यवस्थापन गर्न, विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालन समय बिहान ४ बजेसम्म विस्तार गर्ने निर्णय गरेको विमानस्थलका एक अधिकारीले कान्तिपुरसँग बताएका छन् । आन्तरिक उडान भने आइतबार बिहानसम्मका लागि रोकिएका छन् ।
