जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
काठमाडौं — जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले तीन दिनसम्म अरनिको राजमार्ग र सहायक मार्गमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द हुन सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको बैठकले यही असोज १७ देखि २० गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउनेछन् ।
नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै सुरक्षा परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ । बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।