सन्धिखर्क–गोरुसिंगे सडकको अधिकांश ठाउँमा पहिरोको उच्च जोखिममा रहेकाले आज बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्मका लागि गाडी चलाउन प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।
What you should know
अर्घाखाँची — आजदेखि भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएसँगै अर्घाखाँची आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
सन्धिखर्क–गोरुसिंगे सडकको अधिकांश ठाउँमा पहिरोको उच्च जोखिममा रहेकाले आज बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्मका लागि गाडी चलाउन प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जल तथा मौसम विज्ञान विभागको विश्लेषण अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा अत्यधिक पानी पर्न सक्ने भएकाले शुक्रवार रातभरि सन्धिखर्क–गोरुसिंगे सडकमा गाडी चल्न रोक लगाइएको बताए । सो सडक अन्तरगत जगत बहखोर, नरपानी, डोहोटे, भेडामारे, सितापुर, दहखोला लगायतका स्थानमा सडक माथिबाट पहिरो खस्ने र सडकलाई पहिरोले बगाएर लैजान सक्ने उच्च जोखिममा रहेको उनले बताए । यात्रुको विपद्मा समस्या नपरोस् र मान्छेको जिउधनको सुरक्षाको लागि आजको रातमा नहिँड्न भन्दै रोक गाडी चलाउन लगाइएको अर्यालले बताए ।
सन्धिखर्कबाट जिल्ला बाहिर जाने गाडीलाई शान्ति बगैँचाबाटै रोकिएकाले सबै यातायात व्यवसायीलाई गाडी नचलाउन प्रशासन कार्यालयले जानकारी गराएको छ । काठमाडौँ, बुटवल लगायतका विभिन्न स्थानबाट जिल्लामा भित्रिने गाडीहरूलाई अर्घाखाँची–कपिलवस्तु सीमाना पथ्थरकोटमा नै शुक्रवार साँझबाट प्रवेशमा रोक लगाइएको हो । प्रजिअ अर्यालले अर्घाखाँची जिल्लावासीलाई उच्च सर्तकता अपनाई सुरक्षित भएर बस्न र वर्षाको कारण आफ्नो नजिकैको विपद्को अवस्था आइपरेमा जिल्लास्थित सुरक्षा निकाय, वडा कार्यालय, पालिका कार्यालय, जनप्रतिनिधिलाई खबर गर्न अनुरोध गरेका छन् । साथै विपद् जोखिम न्यूनीकरण गर्न तथा विपद् प्रतिकार्यमा जुट्न सबै समुदायलाई प्रशासनले आग्रह गरेको छ । अवस्था हेरेर यातायात थप बन्द गरिने पनि उनले बताए ।
विपद्को बेला आपत्कालीन अवस्था आइपरेमा प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५७००७७७७, सेनानीको नम्बर ९८५७०६६४७३, प्रहरी नायब उपरीक्षकको नम्बर ९८५७००५५५५ र सहायक प्रहरी नायब उपरीक्षकको ९८५१२७२५३८ नम्बरमा सम्पर्क गर्नुहुन सर्वसाधारणको लागि जानकारी गराइएको छ ।
