दुर्घटनामा घाइते भएका सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको शुभस्वास्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
काठमाडौँ — महोत्तरीको खयरमारामा भएको बस दुर्घटनामा परी घाइते एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको शुभस्वास्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। खड्का बसमा सवार थिए।
घारीबथानबाट खैरमारा हुँदै काठमाडौँ जान लागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा यसअघि पैदलयात्रु चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने बसमा सवार २० जनाभन्दा बढी यात्रुहरू घाइते भएका छन्। उनीहरूको उद्धार गरी विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीका अनुसार खैयरमारा स्कुल अगाडि पैदल यात्रुलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको थियो।
चिया खाएर बाटोमा निस्किएका स्थानीय चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर नजिकै रहेको नरिवलको बोटमा ठोकिएको प्रत्यक्षदर्शी विनय यादवले बताए।
