उपत्यकाको नदी आसपासका क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती

मौसम पूर्वानुमान विभागले नदीहरूमा पानीको बहाव बढ्ने भन्दै बाढी र पहिरो जान सक्ने पूर्वसूचना दिएपछि पूर्वतयारी बढाइएको हो ।

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

Armed police patrols in areas around rivers in the valley

काठमाडौँ — सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले उपत्यकाका नदी आसपासको क्षेत्रमा गस्ती बढाएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गस्तीसँगै नदी आसपासको क्षेत्रमा सचेतनामूलक माइकिङसमेत गरिएको छ ।

'सम्भावित मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी बनस्थली लगायताका स्थानमा पट्रोलिङ तथा माइकिङ गरिएको छ,' थापाले भने, 'सशस्त्र प्रहरी बलले विशेष गरी खोला किनार तथा डुबान हुन सक्ने ठाउँहरूको पहिचान गरेर त्यहाँ गस्ती र माइकिङ गरेको हो ।' 

त्यस्ता ठाउँका नागरिकलाई सुरक्षित रहन र आपत‍्को अवस्थामा उद्दारका लागि तत्काल सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ मा फोन गर्नसमेत सूचित गराइएको छ । Armed police patrols in areas around rivers in the valley

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले समेत शुक्रबार उपत्यकाका विभिन्न सशस्त्र प्रहरी युनिटहरूको निरीक्षण समेत गरेका छन् । मौसम पूर्वानुमान विभागले नदीहरूमा पानीको बहाव बढ्ने भन्दै बाढी र पहिरो जान सक्ने पूर्वसूचना दिएपछि पूर्वतयारी बढाइएको छ । यस्तोमा गृहमन्त्री अर्यालले विभिन्न युनिटमा पुगेर स्रोत, साधनसहित तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । 

सशस्त्र प्रहरीसँग विपद् व्यवस्थापनका लागि गोताखोर, विपद् उद्दार तालिम प्राप्त  जनशक्ति, र्‍याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजु अल्टी भेइकल लगायत सामग्री छन् । गृहमन्त्री अर्यालले शुक्रबार दिउँसो नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको समेत निरीक्षण गरेका थिए । गृह मन्त्रालयले विपद्‍‍बाट प्रभावित हुन सक्ने जिल्लाहरूलाई तयारी गर्न समेत निर्देशन दिइसकेको छ ।

कान्तिपुर

Link copied successfully