जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सम्भावित बाढी, पहिरो तथा विपद् जोखिमलाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
What you should know
काठमाडौँ — सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।
सतर्कता अपनाउनेसम्बन्धी जरुरी सूचना जारी गर्दै प्रशासनले असोज १७ (आज) देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दुरीको यात्रा नगर्न, काठमाडौंबाहिर जाने र प्रवेश गर्नेहरुले रातको समयमा यात्रा नगर्न भनेको हो ।
'जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटना हुने सम्भावना भएकाले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन' जारी विज्ञप्तिमा भनिएको छ ।
विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि प्रशासनले उपलब्ध गराएको छ ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यदेखि भारी वर्षाको सम्भावना देखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि बिहीबार उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेको थियो । त्यसलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललले सम्भावित खतरालाई मध्यनजर राखेर आवश्यक सबै तयारी पूरा गरेर बस्न निर्देशन दिएका छन् । मानवीय क्षति रोक्नका लागि आवश्यक सतर्कता अपनाउन उनले विपद्को व्यवस्थापन तथा राहत र उद्धार कार्यमा सक्रिय रहने अधिकारीहरूलाई निर्देश गरेका हुन् ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक प्रतिकार्यका लागि तयारी रहन निर्देशन दिइएको छ । नेपाली सेनाका अधिकारीले राहत तथा उद्धार कार्यका लागि सेनाको ६ वटा हेलिकप्टरलाई तयारी हालतमा राखिएको बैठकमा जानकारी दिएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिसकेको छ ।
अत्यन्त जरुरी नभए २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
