मनसुनी वायु सक्रिय हुँदा वर्षा : चार दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह

यो अवधिमा देशको नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

आश्विन १६, २०८२

कान्तिपुर संवाददाता

Rain when Monsoon is active: Special alert for four days

काठमाडौँ — मनसुनी वायु सक्रिय हुँदा बिहीबार बिहान रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँहरूमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले दसैँको बेला धेरै मानिसहरू यात्रा गर्ने भएकाले चार दिनसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गर्दा मनसुनी वायु सक्रिय भएको हो।

विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको जनाएको छ। 

हालको विश्लेषणअनुसार यो अवधिमा देशको नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्न सक्ने देखिएको मौसमविद्हरूले जनाएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिकरुपमा पानीको बहाव हुन सक्ने सम्भावना रहेको छ।

नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको जनाएको छ। 

कान्तिपुर

Link copied successfully