मन्त्री घिसिङले भने : चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई सास्ती नहोस्
काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनर्निर्माणबारे बुधबार निरीक्षण गरेका छन् ।
चाडपर्वमा यात्रुहरुलाई बीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्याएको क्षतिपश्चातको पुनर्निर्माणको अवस्था बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयं सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीसहित फिल्डमा खटिएका हुन् ।
मन्त्री घिसिङले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरूले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रूपमा भइरहेको राजमार्ग पुनर्निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाइकाले अनुदान सहयोगमा बनाइदिने भएको छ ।
संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नका लागि महत्त्वपूर्ण रहेको उक्त बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाइ रहेको बीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाइने छ ।
