कार्यक्रममा दुवै देशका क्रिएटर, इन्फ्लुएन्सर र स्टोरीटेलर सहभागी भई सांस्कृतिक आदानप्रदान, सहकार्य र यस क्षेत्रको भ्लगिङ तथा डिजिटल मिडियाको भविष्यबारे छलफल गरेका थिए ।
काठमाडौँ — नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा चाइना भ्लगर मिट २०२५ सम्पन्न भएको छ ।
कार्यक्रममा दुवै देशका अग्रणी क्रिएटरहरू, इन्फ्लुएन्सरहरू र स्टोरीटेलरहरू सहभागी भई सांस्कृतिक आदानप्रदान, सहकार्य, र यस क्षेत्रको भ्लगिङ तथा डिजिटल मिडियाको भविष्यबारे छलफल गरेका थिए ।
कार्यक्रमले सांस्कृतिक कूटनीति सुदृढ पार्न, पर्यटन प्रवर्द्धन गर्न र नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन डिजिटल स्टोरीटेलिङको भूमिकामा जोड दिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ,नेपाल पर्यटन बोर्डका निर्देशकसुनील शर्मा, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे,पर्यटन विज्ञ डा. आलोक प्रसाई लगायतको उपस्थिति थियो ।
मन्त्री सुरेश श्रेष्ठले नेपाल–चीन मैत्रीको ७० वर्षको अवसरमा डिजिटल क्रिएटरहरूले नेपालको सांस्कृतिक समृद्धिलाई विश्वसामु पुर्याउँदै सीमापार सम्बन्ध सुदृढ पारिरहेको बताए भने एनटीबीका शर्माले यस किसिमको पहलले पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा दुई देशको साझा प्रतिबद्धतालाई अझै बलियो बनाएको बताए ।
कार्यक्रममा चीनबाट आएका अग्रणी भ्लगरहरूको टोलीले सहभागीता जनाएर आदानप्रदानलाई अझ उत्साहजनक बनाएको थियो । चीनबाट भ्लगरहरु लङ केयु, वाङ लिली, लेइ केक्सिन, ली लिवेई, झेङ डान, सियाङ रोंग, ली हुआगजियाङ, माई जुआन यु, र मा युए सहभागी थिए ।
उनीहरूले नेपाली क्रिएटरहरूसँग मिलेर आफ्ना अनुभव बाँड्दै अन्तरक्रियात्मक सत्रहरूमा भाग लिए । पर्यटन, जीवनशैली, संस्कृति तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने सामग्री निर्माणमा सहकार्य गर्ने अवसरहरूबारे छलफल गरेका थिए ।
चाइना भ्लगर मिट २०२५ ले डिजिटल आवाजलाई सशक्त बनाउने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने, र नेपाल–चीनबीच अझ सबल रचनात्मक साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणसहित समापन गरिएको छ ।
