चितवन निकुञ्जमा जिप सफारी खुला

वर्षाका कारण गत असार १६ गतेदेखि बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज भित्रको जिप सफारी सोमबारदेखि पुनः खुलाइएको हो ।

आश्विन १३, २०८२

नारायण शर्मा

Jeep Safari open in Chitwan Park

नवलपरासी — चितवन राष्ट्रिय निकुन्जमा जिप सफारी पुन: खुला गरिएको छ ।

वर्षाका कारण गत असार १६ गतेदेखि बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज भित्रको जिप सफारी आजदेखि पुनः खुलाइएको हो । वर्षा सकिएपछि निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढ्ने भएकाले जिप सफारी सञ्चालन गर्न अनुमति दिइएको हो ।

निकुञ्ज प्रवेशका लागि सुरक्षापोष्ट भएका स्थानबाट मात्र जंगल प्रवेशको अनुमति दिने प्रचलन  छ । वर्षा सकिएपछि निकुञ्ज भित्रका खोलानाला तरेर जिपमा पर्यटक आउजाउ गर्न मिल्ने भएपछि सफारी खुलाइएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार यस वर्ष पूर्वी नवलपरासीको अमलटारीबाट ५ वटा, रजहर नजिकको कुजौली पोष्टबाट २ वटा, चितवनको माडीबाट १ वटा जिपलाई निकुञ्ज भित्र जाने अनुमति दिइएको छ । त्यस्तै, सौराहाबाट ३२ र कसराबाट १६ वटा जिप प्रवेश गर्ने अनुमति दिइएको छ ।

जिपमार्फत निकुञ्जमा प्रवेश गर्ने पर्यटकले जंगल, चराचुरुङ्गी र वन्यजन्तु अवलोकन गर्ने गर्छन् । चितवन निकुञ्ज पूर्वी नवलपरासी, चितवन र मकवानपुरसम्म फैलिएको छ । चितवन र पूर्वी नवलपरासीका विभिन्न नाकाबाट प्रवेशको व्यवस्था भए पनि मकवानपुरतर्फबाट भने पर्यटक प्रवेशको सुविधा छैन ।

निकुञ्ज प्रवेशका लागि तोकिएको शुल्क अनिवार्य छ । सूचना अधिकारी थापाका अनुसार हरेक नेपाली पर्यटकले १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले १,००० रुपैयाँ र अन्य मुलुकका पर्यटकले २,००० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । निकुञ्ज भित्र लैजाने हरेक जिपको ५,००० रुपैयाँ शुल्क तिर्नुपर्ने नियम पनि छ ।

९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष २ लाख ३१ हजार ३२९ जना पर्यटकले प्रवेश गरेका थिए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully