हनुमानढोकामा भित्राउन गोरखा दरबारबाट पठाइयो फुलपाती

परम्परागत बाजा, फुलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट फुलपाती पठाइएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिए ।

आश्विन १३, २०८२

हरिराम उप्रेती

Flowers were sent from the Gorkha palace to enter Hanuman Dhoka

गोरखा — गोरखा दरबारको दसैँ घरबाट काठमाडौँ हनुमानढोका फुलपाती पठाइएको छ । हनुमानढोका भित्राउन विधिवत रुपमा फुलपाती काठमाडौ पठाइएको हो । परम्परागत बाजा, फुलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट फुलपाती पठाइएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिए ।

गोरखा दरवारको फुलपाती हनुमान ढोका पुगेपछि दसैँको रौनक बढ्ने र दसैँ भित्रियो भन्ने प्रचलन छ । हनुमानढोका फुलपाती पठाउन आइतबार षष्ठिको दिन गोरखा नगरपालिका–९ पिप्लेमा वेल निमन्त्रण पुजा गरेर फुलपाती संकलन गरिएको  उनले बताए ।

गोरखा नगर क्षेत्रको पस्लाङ, रिप, अमराई लगायतका बन क्षेत्रबाट संकलन गरेको नवपत्र काठमाडौ पठाइएको उनले बताए । संकलन भएको नवपत्रमध्ये केही गोरखा दरवारमा भित्राउने केही हनुमानढोका लागि पठाउने प्रचलन छ ।

Flowers were sent from the Gorkha palace to enter Hanuman Dhoka

पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फुलपाती हनुमानढोकाको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको भट्टराइले बताए । पृथ्वीनारायण शाहले काठमाडौ विजय पश्चात गोरखा दरवारबाट फुलपाती हनुमानढोका लगेर भित्राउने प्रचलन सुरु भएको उनले बताए ।

गोरखाबाट फुलपाती पुगेपछि मात्र हनुमानढोकामा बढ्याइ चल्छ । सडक सुविधा नहुँदा पैदलमार्गबाट लैजाने फुलपाती सडक सञ्जालको विस्तारसँगै सवारी मार्फत लैजाने प्रचलन सुरु भएको थियो । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully