६ महिना हुन लाग्दासमेत राजावादीको प्रदर्शनका घाइतेले उपचार खर्च पाएनन्, फाइल जलेपछि थप अन्योल

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालबाट प्राप्त बिलसहितका डकुमेन्टहरु भदौ २४ गतेको प्रदर्शनका क्रममा जलेकाले भुक्तानी प्रक्रिया फेरि सुरु गर्नुपर्ने अवस्था आएको हो ।

आश्विन १२, २०८२

विवेक पोख्रेल

Even after 6 months, the injured of Rajawadi's demonstration did not get medical expenses, more confusion after the file was burned

काठमाडौँ — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुर चौदण्डीगढी नगरपालिका–६, सातधारकी २२ वर्षीया रेबिका खत्री झन्डै चार महिनाको उपचारपछि अहिले घर फर्किएकी छन् । उनको उपचारका क्रममा परिवारको १४ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । तर घाइतेको उपचारको जिम्मा लिने घोषणा गरेको सरकारले एक रुपैयाँ पनि दिएको छैन ।

‘उपचार गरेको अस्पतालमा नपाएको औषधी खरिद गर्दा र कुरुवासहितको खानेबस्ने गर्दा छोरीको उपचारमा १४ लाख रुपैयाँ बढी खर्च भयो । सरकारी नियम अनुसार हामीले ८ लाख ९६ हजार रुपैयाँमात्र बिल दाबी गर्न सक्यौं,’ ५० वर्षीय तुलसीराम खत्रीले भने, ‘हामीले खर्च गरेको पैसाको बिल अस्पताललाई बुझाएका थियौँ । अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा गएको थियो रे । तर अहिलेसम्म एक रुपैयाँ पनि पाएको छैन । ’ बिल अनुसार सिभिल अस्पतालमा ६ लाख ५८ हजार र त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा उपचारको क्रममा परिवारले २ लाख ३८ हजार रुपैयाँ खर्च गरेको थियो ।

‘खर्च भएको रकमको बिल सरकारलाई पेस गरिसकेको भएपनि सरकारबाट उपचार खर्च एक रुपैयाँ पनि रिफन्ड भएको छैन । मैले उपचारका लागि सयकडा तीनका दरले ब्याज तिर्नेगरी ऋण खोजेको थिए । दसैं पनि नजिकै आयो छिमेकीको ऋण र ब्याज दुवै तिर्न सकेको छैन,’ उनले फोनमा रुँदै भने, ‘घरमा दसैं मनाउने पनि कुनै रौनक छैन । हाम्रो आशा सरकारसँग हो । यत्रो पैसा तिर्ने अरू विकल्प नि छैन ।’

बाँच्दिन भनेको छोरी हिँड्न सक्ने हुँदा खत्री परिवार खुशी छ । तर,ऋणको बोझ कसरी कम गर्ने भन्ने चिन्ता सबैमा छ । घर खर्च धान्न मुस्किल भएपछि अहिले रेबिकाकी दिदी अनिता र दाइ जापानमा छन् । दुई वर्षअघि तुलसीरामको पनि फोक्सोमा पानी जमेपछि उपचार गर्न ७ लाख खर्च भएको थियो । रेबिकाकी आमालाई नियमित औषधी सेवन गर्नुपर्छ । रेबिकालाई गोली लागेपछि अहिले उनीहरूको परिवारले गाउँमा सञ्चालन गरेको सानो डेरी पनि बन्द भएको छ । खत्री परिवारको जमिनमा वर्षभरि खाने पनि पुग्दैन । चैत्र १५ गते नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्किने क्रममा गोली लागेर सख्त घाइते भएकी रेबिकाको ४ महिना अस्पतालमा नै राखेर उपचार भएको थियो । 

उपचारको क्रममा लागेको ऋणले रेबिकाको परिवारकै जस्तो समस्यामा छन् भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, लोखर्कका डिल्लीप्रसाद लुइँटेल । सोही दिन लुइँटेलको पनि पेटमा गोली लागेको थियो । दुई वटा आन्द्रा पेट बाहिर नै राखेर तीन महिनासम्मको उपचारपछि उनी काममा फर्किएका छन् । उपचारको लागि भनेर लुइँटेलले गाउँबाट सयकडा दुईका दरले ब्याज तिर्ने गरी ऋण खोजेर ल्याएका थिए । रिफन्डका लागि २ लाख १० हजार बिल पेस गरेको भएपनि उपचारको क्रममा ३ लाखभन्दा बढी खर्च भएको उनले सुनाए । उनका बुबा अशक्त छन् । उनकी आमाको क्यान्सरले निधन भइसकेको छ । उनका दुई भाइ गाउँकै स्कुलमा पढ्छन्। पारिवारिक कारणले बहिनी कलेज जान छाडेकी छन् । अहिले परिवारको जिम्मेवारी डिल्लीप्रसादको काँधमा छ । त्यही कारण उनी पुरानो काममा फर्किसकेका छन् । ‘म बस काउन्टरमा काम गर्छु । दसैंको समय छ एक दुई रुपैँया भनेपनि कमाई हुन्छ कि भनेर सकिनसकी खटिएको छु,’ उनले भने, ‘आफ्नो उपचारको ऋण र परिवारको दसैँ खर्च जोहो त गर्नु पर्‍यो नि ।’ उनी सरकारले दिने भनेको पैसा पाउने आशमा केही समय अघिसम्म मन्त्रालय जाने, आउने गरेपनि दसैं सुरु भएपछि भने कामको कारण जान नभ्याएको बताउँछन् ।  

उक्त प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रदर्शनकारी प्रहरीको गोली लागेर घाइते भएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालबाट प्राप्त बिलसहितका डकुमेन्टहरु भदौ २४ गतेको प्रदर्शनका क्रममा जलेकाले भुक्तानी प्रक्रिया फेरि सुरु गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘सबै अस्पतालबाट खर्चको बिलसहितको विवरण मागेर हामीले अर्थ मन्त्रालयमा लगेका थियौं,’ बुढाथोकीले भने, ‘प्रदर्शनको क्रममा आगलागी हुँदा त्यो फाइल जलेको रहेछ । डकुमेन्ट प्रक्रिया फेरि सुरुबाट गर्नुपर्ने भयो ।’ उनका अनुसार सबै अस्पतालबाट घाइतेहरूको विवरण माग गरेर झन्डै ४० करोड रुपैयाँ निकासीको लागि अर्थ मन्त्रालयमा पेस भएको थियो । 'मन्त्रालयमा भएको बिलहरु जलेपनि अस्पतालहरूसँग यसको प्रतिलिपिहरू हुन्छ हामी फेरि अस्पतालमासँग माग गरेर अघि बढ्छौं,' उनले कान्तिपुरसँग भने । बुढाथोकीका अनुसार अर्थ मन्त्रालयले सबै घाइतेहरूको प्रक्रिया एकै पटक अघि बढाउने भनेपछि सबै बिरामी डिस्चार्ज भएपछि मात्र स्वास्थ्य मन्त्रालयले डकुमेन्ट अर्थ मन्त्रालयमा पुर्‍याएको थियो ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully