२०५ वर्षदेखि भगवती मन्दिरमा निरन्तर ‘दाफा भजन’ 

नेवारी संस्कृतिमा ‘दाफा भजन’ को सेनकालीन इतिहास छ । दाफा भजन शास्त्रीय संगीतको उच्चतम सम्मिश्रण हो । जानकारहरूका अनुसार ‘दाफा भजन’ नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै महत्त्वपूर्ण मौलिक विद्या हो ।

आश्विन १२, २०८२

माधव अर्याल

Continuous 'Dafa Bhajan' at Bhagwati Temple for 205 years

पाल्पा — तानसेन नगरपालिका–३, टक्सारटोलका ८३ वर्षीय मंगलमान बज्राचार्य यो उमेरमा पनि तबला बजाउन छाडेका छैनन् । बिहानै ५ बजे उठेर भगवती मन्दिर पुग्छन् । अझ दसैंका अवधिभर घटस्थापनादेखि तबला बजाउने र भजन गाउने काम निरन्तर छ ।

बज्राचार्य सानै उमेरदेखि यसैलाई निरन्तरता दिइरहेका छन् । ‘म १०-१२ वर्ष हुँदा नै बुबा, हजुरबुबाहरूसँग भजन गाउन हिँड्ने गर्थें,’ उनले भने, ‘अहिले पनि भजन गाउन छाडेको छैन ।’ विशेषगरी नेवारीमा भजन गाउन उनलाई आनन्द लाग्नेगर्छ । अहिले पनि तानसेन भजन संरक्षण समितिको नेतृत्व बज्राचार्यले नै गरेका छन् । 

तानसेन नगरपालिका–६, बसपार्कका ८१ वर्षीय ज्ञानुकुमार बज्राचार्यको हात हार्मोनियममा ६५ वर्षदेखि चलेको छ । औंलाको चालमा बज्राचार्यले भजन गाउने गर्छन् । भजन खलः को नेतृत्व गरेका उनले अझै पनि भजन गाउन छाडेका छैनन् । ‘म सानै हुँदादेखि नै भजन गाउनमा ध्यान गएको हो,’ उनले भने, ‘अझ चाडपर्वमा भजन गाउन छुट्टै आनन्द आउने गरेको छ ।’ मंगलमान र ज्ञानुकुमार मात्र होइन यसअघिका पुस्ताले सुरू गरेको भजन २०५ वर्षदेखि ‘दाफा भजन’ ले निरन्तरता पाएको हो । 

Continuous 'Dafa Bhajan' at Bhagwati Temple for 205 years१० वर्षअघि भने एउटै मात्र समूह थियो । तर अहिले भने युवा, अधवैशे र वृद्धको सहभागितामा दुई समूहमा भजन गाउने गर्छन् । अधवैशे, वृद्ध मात्र होइन, युवाको आवाजले मन्त्रमुग्ध बनाउँछ । ‘डाफा भजन’ भने सुरुमा नेवारीमै थियो । मंगलमानका अनुसार नेवारी भजन भएकाले सबैलाई गाउन र ताल दिन अप्ठ्यारो भएपछि नेपालीमा पनि बनाइएको छ । ‘हुन त पहिलेका भजन नेवारी, भोजपुरी, नेपाली, अवधि भाषामै गाउने गरिएको रहेछ,’ उनले भने, ‘अहिले भने हामीले त्यसलाई निरन्तरता दिएका हौं ।’

‘डाफा भजन’ दसैंमा मात्र गाउने गरिन्छ । यसलाई वर्षौदेखि निरन्तरता दिएको हो । हुन त ‘डाफा भजन’ सेनकालिन भएको इतिहासविद् निर्मल श्रेष्ठले बताए । ‘पहिले दसैंका साथै अन्य चाडपर्वमा डाउने चलन थियो,’ उनले भने, ‘अहिले बिस्तारै कमी हुँदै गएको छ ।’ 

Continuous 'Dafa Bhajan' at Bhagwati Temple for 205 yearsसहभागीले अगाडि राखिएका भजनको पाना हेर्दै गाउनमा सघाउने गर्छन् । हार्मोनियम र तबलासँगै मुजुरा, र्‍यालीको तालले मन्दिर दर्शन गर्न आउनेहरू एकैछिन भजन सुन्ने गर्छन् । कतिपय भजन सुन्नकै लागि घटस्थापनादेखि दैनिक मन्दिर दर्शन गर्न जाने गर्छन् । तानसेन नगरपालिका–३, भगवतीटोलका राजेन्द्र गोपाल सिंहले भने, ‘दुई समूहको भजन हेर्न र सुन्न आनन्द लाग्छ । कतिपय यही भजन सुन्नका लागि आएको पनि देखिन्छ ।’ 

उनका अनुसार पछिल्लो समयमा युवापुस्तालाई भजनकीर्तनमा चासो छैन । कतिपय भजनका ‘राग’ ‘ताल’ लोप हुने अवस्थामा पुगेको छ । भजन गाउने पाकापुस्ताको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको तानसेन नगरपालिका–३, भगवतीटोलका पुष्करराज रेग्मीले बताए । उनका अनुसार नयाँ पुस्तामा सिक्ने भन्ने सोचसमेत छैन । ‘त्यसका लागि स्थानीय तहले पाठ्यक्रम, पाठ्यपुस्तकमै भजनका विषयमा जानकारी दिनुपर्छ,’ उनले भने, ‘हाम्रो संस्कार, संस्कृतिका विषयमा जानकारी गराउन सकियो भने यसतर्फ आकर्षण बढ्नेछ ।’

नेवारी संस्कृतिमा ‘दाफा भजन’ को सेनकालीन इतिहास छ । दाफा भजन शास्त्रीय संगीतको उच्चतम सम्मिश्रण हो । जानकारहरूका अनुसार ‘दाफा भजन’ नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै महत्त्वपूर्ण मौलिक विद्या हो ।

दाफा भजन समय, परिस्थिति र मौसमअनुसार गाइने संगीतमय गुञ्जन हो । यसमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई प्रस्तुत गरिन्छ । दाफाका गीत, संगीत र बोलहरू परम्परागत शास्त्रीय रागहरूमा आधारित हुन्छ । विभिन्न संगीतका विभिन्न विद्यालाई नेवारहरूले दाफा भन्ने गरेको संस्कृतिविद् मदन देउरालीले बताए । दाफा गीत खास गरी ३५ वटा रागमा आधारित भएर गाइने उनले बताए । 

Continuous 'Dafa Bhajan' at Bhagwati Temple for 205 yearsयस्ता भजन लिच्छविकालबाटै अस्तित्वमा रहेको भए पनि सेनकालमा संस्थागत भएको दाबी छ ।  दाफा भजन नेवारी संस्कृतिको विशिष्ट पहिचान हो । तर पछिल्लो समय धेरैजसो स्थानमा दाफा भजन गाउने चलन हराउँदै गएको छ । पहिले यस्ता भजन नियमित गाइन्थ्यो । नेवारी टोलटोलमा गाउने यस्ता भजन अहिले लोप हुने अवस्थामा रहेको संस्कृतिविद् चित्रवलीराम सुवालले बताए । पछिल्लो समय भगवती भजन समिति (भजन खलः) का ११ सदस्यको जमघट हुन्छ । कहिलेकाहीँ १५ जनासम्म पुग्छन् । अघिल्लो वर्षदेखि तानसेन भजन संरक्षण समिति पनि भगवती मन्दिर प्रांगणमै जुट्ने गरेको छ । यो समूहमा बढीमा ३० जना जुट्छन् । 

Continuous 'Dafa Bhajan' at Bhagwati Temple for 205 yearsभजनकीर्तनमा ‘दाफा भजन’ सँगै शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथा पनि गीतका रूपमा गाउने प्रचलन छ । सृष्टिदेखिका भगवानका लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गर्ने गरिन्छ । नवदुर्गाका बेलामा विशेष गरी देवीदेवताकै भजन गाउने गर्छन् । पूरानो भजनका ‘राग’ र ‘ताल’ अहिलेका पुस्ताले निकाल्नै नसक्ने समस्या छ । युवा अमित कर्माचार्यका अनुसार सिक्ने प्रयास गरेको भए पनि ‘राग’ ‘ताल’ ल्याउन कठिन रहेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully