प्रधानमन्त्रीको नाममा 'फेक अकाउन्ट' बनाउनेलाई कस्तो कारबाही हुन्छ ?

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारले उक्त अकाउन्टमाथि छानबिनका लागि पत्राचार गरेको थियो । यसको छानबिन गरी बन्द गर्ने तयारी भइरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले बताए ।

आश्विन १०, २०८२

दया दुदराज

What action will be taken against those who create 'fake accounts' in the name of the Prime Minister?

काठमाडौँ — प्रधानमन्त्रीको नाममा 'फेक अकाउन्ट' बनाउनेमाथि भोटाहिटीस्थित साइबर ब्युरोले अनुसन्धान थालेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा एक्स (पहिले ट्वीटर)मा 'सुशीला कार्की अफिसियल' नामक नक्कली आइडीमाथि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।  

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारले उक्त अकाउन्टमाथि छानबिनका लागि पत्राचार गरेको थियो । यसको छानबिन गरी बन्द गर्ने तयारी भइरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले बताए । उनले भने, 'प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि सो आइडी बन्द गर्ने प्रक्रियामा छौं । सायद छिट्टै बन्द हुन्छ ।'

'फेक आइडी' बनाउनेलाई यही कारबाही हुन्छ भन्ने कुनै कानुन नभएको साइबर ब्युरोका एसपी अवस्थीले बताए । उनले भने, 'फेक आइडी बनाउने विरुद्ध कारबाही भनेर ठ्याक्कै कतै उल्लेख छैन । यद्यपि ती आइडीहरु बन्द गर्न सकिन्छ ।' 

कानुन व्यवसायीहरु भने विद्युतीय कारोबार ऐन-२०६३ को दफा ४७ अन्तर्गत कारबाहीको दायरामा लैजान सकिने बताउँछन् । अधिवक्ता प्रवीण भट्टका अनुसार कसैको नाममा नक्कली अकाउन्ट खुलाएमा विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत मुद्दा चालउन सकिन्छ । उनले भने, 'फेक आइडी भनेर उल्लेख नगरे पनि घटनाको प्रकृति हेरेर त्यसअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।'

विद्युतीय कारोबार ऐनको दफा-४७ मा अनुसार यस्ता घटनामा दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । 

दफा-४७ मा भनिएको छ, 'कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।'

सम्बन्धित अन्य समाचार 

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा 'फेक' अकाउन्ट

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully