पासपोर्ट रोक्का गरेर भए पनि सबैमाथि अनुसन्धान गर्छौं : जाँचबुझ आयोग अध्यक्ष कार्की

सुरुमा फिल्डमा खटिएका प्रहरी, त्यसपछि आदेश दिने अनि सरकारमा रहेकाहरुलाई क्रमश: बयानमा बोलाउने उनको भनाइ छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Even if passports are stopped, we will investigate everyone: Investigation Commission Chairman Karki

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै जाँदा संलग्न देखिएमा त्यस्ता व्यक्तिको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाउने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनामा संलग्न भएको आशंका भएका र केही प्राथमिक रुपमा प्राप्त प्रमाणका आधारमा यस्तो निर्णय हुने बताए । '३ महिनाको म्यान्डेट प्राप्त भएको आयोगले मुद्दा चलाउँदै दोषीलाई कारबाही सिफारिस  गर्नेछ,' उनले भने ।

यसअघिका छानबिन आयोग मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले अहिलेको प्रतिवेदन गोप्य पनि नरहने र दोषीलाई कारबाही पनि हुने दाबी गरे । 'यो आयोग गठन हुँदा नै मैले सरकारसँग दुईवटा कुरा प्रस्ट सँग राखेको छु,' कार्कीले कान्तिपुरसँग भने, 'एक, यो आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र दोस्रो आयोगको प्रतिवेदन गोप्य राख्न नपाइने ।' आयोगको प्रतिवेदन गोप्य राख्ने काम भयो भने आफैले सार्वजनिक गर्ने कार्कीले स्पष्ट पारे ।

उनले सरकारमा रहेका र सत्ता गठनबन्धनमा रहेका सबै नेतामाथि अनुसन्धान हुने दाबी गरे । सुरुमा फिल्डमा खटिएका प्रहरी, त्यसपछि आदेश दिने अनि सरकारमा रहेकाहरुलाई क्रमश: बयानमा बोलाउने उनको भनाइ छ । यसरी आयोगले छानबिन गर्दा कुनै पनि पूर्वाग्रह वा हस्तक्षेप नगर्ने उनले दाबी गरे ।  

'कसैप्रति नियोजित रुपमा अनुसन्धान हुनेछैन । कसैलाई अनुसन्धानबाट बाहिर पनि राखिँदैन,' कार्कीले भने, 'यो आयोगले पाएको अधिकार क्षेत्रभित्र रहेर ठूला वा साना सबैमाथि अनुसन्धान हुन्छ ।'

आयोगसँग दक्ष जनशक्ति नभएका कारण अनुसन्धानमा समस्या हुने देखिएको भन्दै कार्कीले सरकारसँग त्यसका लागि जनशक्ति माग गरिएको जानकारी दिए ।

जल तथा मौसम विभागमा कार्यालय खडा गरेको आयोगले काम सुरु गरिसकेको भन्दै कार्कीले दसैं बिदा सकिएपछि रफ्तारमा काम हुने दाबी गरे । आफूले कसैलाई कुनै आधारमा पक्षपात वा भेदभाव नगर्ने, अनुसन्धानको दायरामा ल्याउन कसैलाई उन्मुक्ति पनि नदिने उनको दाबी छ  ।

कान्तिपुर संवाददाता

Link copied successfully