प्रदर्शनका क्रममा भएको ताेडफोड र आगजनीबाट अख्तियारकाे फरेन्सिक ल्याब नष्ट

२४ भदौको आगजनीबाट टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा रहेको ‘विधि विज्ञान प्रयोगशाला’को संरचना र त्यसका उपकरणहरु जलेर नष्ट भएका छन् ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

The authority's forensic lab was destroyed due to vandalism and arson during the demonstration

काठमाडौँ — भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीसहितका माग राखेर ‘जेन–जी’ पुस्ताले आह्वान गरेको प्रदर्शन भड्किएपछि सिर्जित तोडफोड र आगजनीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्र र प्रदेशस्थित कार्यालयमा पनि ठूलो धनमाल नष्ट भएको छ ।

२४ भदौको आगजनीबाट टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा रहेको ‘विधि विज्ञान प्रयोगशाला’को संरचना र त्यसका उपकरणहरु जलेर नष्ट भएका छन् । भ्रष्टाचारको अनुसन्धानका क्रममा अख्तियारले यही प्रयोगशालाबाटै फरेन्सिक जाँच गर्दै आएको थियो । अख्तियारकै पहिलो तलामा रहेको पुस्तकालय पनि जलेर खरानी भएको छ । अख्तियारको प्रशासन महाशाखा जल्दा त्यहाँ रहेका कर्मचारी विवरण र आन्तरिक प्रशासनिक दस्तावेजहरु जलेका छन् । केही कम्प्युटर, हार्ड डिस्कसहितका धनमाल पनि लुटपाट भएको र लुटिएका उपकरणहरु बुझाउन सम्वद्ध पक्षहरुलाई अपिल गरिएको अख्तियारले जनाएको छ । केही उपकरणहरु फिर्ता हुन थालेको र अझै थुप्रै आउन बाँकी छन् ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टंगालमा भ्रष्टाचार अनुसन्धानसँग सम्बन्धित फाइलहरुमा भने कुनै क्षति हुन पाएन । ‘२४ भदौको तोडफोड र आगजनीबाट टंगालस्थित कार्यालयमा अनुसन्धानका फाइलहरुमा कुनै क्षति नभएपनि फरेन्सिक ल्याब, प्रशासन महाशाखाका दस्तावेज/विवरण, पुस्तकालय जलेको छ, टंगालमै पार्किङ गरेर राखेका १८ वटा चारपांग्रे र ६८ वटा मोटरसाइकल पनि जलेका छन्,’ पौडेलले कान्तिपुरसँग भने, ‘प्रदेश तहका कार्यालयका भवन र अनुसन्धानका फाइलहरु जल्न पुगेका छन्, यद्यपि प्रदेशका अनुसन्धानसँग जोडिएका फाइलहरुको अभिलेख केन्द्रमा पनि हुन्छ, यसलाई रिकभर गरेर जल्नभन्दा अघिकै अवस्थाबाट काम गर्न समस्या छैन ।’

प्रवक्ता पौडेलका अनुसार टंगाल कार्यालयका १८ चारपांग्रे र ६८ वटा दुईपांग्रे सवारी जलेर नष्ट भएका छन् । इटहरी, हेटौंडा, पोखरा र बुटवलका अनुसन्धान फाइल र भवन पूरै जलेर नष्ट भएका छन् । इटहरीमा २, हेटौंडामा ४, बुटवल ३ र पोखरामा २ वटा चारपांग्रे सवारी साधन जलेका छन् । बर्दिबास, नेपालगञ्ज र कञ्चनपुरस्थित कार्यालय भने सुरक्षित रहेको अख्तियारले जनाएको छ । त्यहाँका दस्तावेज, अनुसन्धान फाइल र अरु भवनसहितका भौतिक संरचनाहरु सुरक्षित छन् ।

‘प्रदेशस्थित कार्यालयहरुका अनुसन्धान फाइलहरुको अभिलेख तथा विवरण केन्द्रसँग पनि हुन्छ, डिजिटल विवरण पनि रहन्छ, त्यसैले अनुसन्धान गर्न यसबाट केही अवरोध भएपनि छिट्टै नियमित रुपमा कामकारबाही हुन्छ, कतिपयबाट पनि काम सुरु भइसकेको छ,’ प्रवक्ता पौडलले भने । अख्तियारमा सार्वजनिक ओहोदाको दुरुपयोग गरी भ्रष्टाचार र सार्वजनिक सम्पत्ति हानीनोक्सानीलगायत कसुरमा हजारौं उजुरी अख्तियारमा विचाराधीन छ । चालू आवको भदौसम्म करिब ८ हजार उजुरी अख्तियारमा अनुसन्धानका क्रममा छन् । आयोगको आब २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार करीब ३७ हजार उजुरी रहेकामा २९ हजार फर्स्यौट भएर करीब ८ हजार उजुरी चालू आवका लागि सरेर आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully