मन्त्री घिसिङ र जापानका राजदूतबीच द्विपक्षीय सहयोग र आयोजना कार्यान्वयनका विषयमा छलफल

मन्त्री घिसिङले दूधकोशी, बूढीगण्डकी, काठमाडौं उपत्यकाको सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Discussion between Minister Ghising and Ambassador of Japan on bilateral cooperation and project implementation

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्‍याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, बीपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत तोरुले नेपालका रणनीतिम महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully