एमसिए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता सम्पन्न

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Construction contract of all sections of 315 km power transmission line completed by MCA-Nepal

काठमाडौँ — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ ।

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यो महत्त्वपूर्ण रहेको एमसीएको दाबी छ । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेसनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ । यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ । 

एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि श्री निर्माण गौलीले शुक्रबार एक समारोहबीच एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षरण गरेका थिए ।  

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, 'यस सम्झौतामा भएको हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ । यो उपलब्धि यस महत्त्वपूर्ण प्रसारण लाइनको सफलतापूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवम् समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिवद्धता तथा लगनशीलताको परिणाम हो ।'

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, 'आज आशिश–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौतामा हस्ताक्षर गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसिए–नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माणसम्बन्धी सम्झौता सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो ।' 

एमसिए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेसनसम्मको, उक्त सबस्टेसनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि नै गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully