डिभिजन सडक कार्यालयले आज बिहीबार बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरिरहेको छ ।
चितवन — नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा खसेको पहिरो सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले आज बिहीबार बिहानैदेखि पाँचवटा मेसिन प्रयोग गरिरहेको छ ।
पहिरो खसेपछि मंगलबार दिउँसो पाँच बजेदेखि यो सडक ठप्प छ । हिजो बुधबार साँझपख पानी परेपछि राति अबेरसम्म काम गर्न नसकेका कारण आज पनि बाटो खुल्ने, नखुल्ने निश्चित छैन । पहिरो गएको ठाउँ साँधुरो भएका कारण धेरै मेसिनहरू उपयोग गर्न नसकिएको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए ।
त्यसैले पहिरो सफा गरेर सडक खुल्न समय लाग्ने उनको भनाइ छ । राजधाानी काठमाडौंलाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक नारायणगढ-मुग्लिन सडकको इच्छाकामना गाउँपालिका-५ मा पर्ने तुइन खोलामा गत शुक्रबारदेखि नै पहिरोले दुख दिएको हो ।
अहिले सडकमा बस र यात्रु त खासै छैनन्। तर सामान बोकेका ट्रकहरूको ठूलो जाम लागेको छ । जसमा दशैंका लागि काठमाडौं जाँदै गरेका खसी बोका, राँगादेखि चिनी, प्याज, तरकारी, खाद्यन्न र इन्धन बोकेका ट्रकहरू बाटोमै रोकिएका छन्।
