यस्ता सादगी पनि थिए हाम्रा नेता

कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजी प्रधानमन्त्री हुँदा छाता, सुराही र ट्यांका बोकेर बालुवाटार प्रवेश गरेका थिए, पदमुक्त भएपछि पनि ती तीन थोक मात्रै बोकेर फर्किए । बालुवाटारको शक्तिका आडमा थप सम्पत्ति कमाएनन्, कमाउन आवश्यक ठानेनन् ।

आश्विन ९, २०८२

किशोर दहाल

Such simplicity was also our leader

काठमाडौँ — छाता, सुराही र ट्यांका जब फरक–फरक ठाउँमा प्रयोग हुन्छन्, तिनले आफ्नै सार्वभौम अर्थ प्रवाह गर्छन् । तर जब एकसाथ प्रयोग हुन्छन्, निःसन्देह कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको पर्यायवाची शब्दका रूपमा काम गर्छन् ।

किसुनजीका जीवनबाट धेरै थोक छुटे होलान्, तर जबसम्म उनी जीवित रहे, तबसम्म उनका साथबाट छाता, सुराही र ट्यांका छुटेनन् । अर्थात् सरल जीवन छुटेन । आफ्नै आदर्शको राजनीति छुटेन । आफ्नो नाममा जग्गा र सम्पत्ति नभएका ‘सन्त नेता’ किसुनजीलाई सरकारले नै ललितपुरको बाँडेगाउँमा आश्रम बनाइदिएको थियो ।

जीवनको अन्तिम कालखण्डमा उनी त्यहीं बसे । उनको मृत्युपछि पनि त्यो आश्रम सानोतिनो पर्यटकीय केन्द्र थियो । त्यहीं थिए, उनले आफ्नो जीवनकालमा प्रयोग गरेका छाता, सुराही र ट्यांका जस्ता वस्तुहरू । देशी–विदेशी उपहारहरू, दस्ताबेजहरू, फोटोहरू ।

भ्रष्टाचार र अनियमितताविरुद्ध जेन–जीको आन्दोलनका क्रममा केही प्रदर्शनकारी २४ भदौ दिउँसोदेखि आगजनी र तोडफोडमा उत्रिए । यसकै चपेटामा पर्‍यो, किसुनजीको आश्रम पनि । र, उनका सरल जीवनका प्रतीक छाता, सुराही र ट्यांका जले । बाँकी वस्तुहरू पनि जले ।

किसुनजी आफैं सरल जीवनका प्रतीक थिए । जसले भ्रष्टाचार गर्‍यो र सम्पत्ति कमायो भनेर आजसम्म कसैले पनि आरोप लगाउन सक्दैन । जो आफैं ‘सन्त नेता’ थिए र सरकारले बनाइदिएको आश्रममा बस्थे, उनको मृत्युपछि त्यही आश्रम पनि लुटियो । भ्रष्टाचार नगरेको ‘प्रमाणित गर्ने’ वस्तुहरू जलाइए ।  

Such simplicity was also our leader

‘बाँडेगाउँमा जे भयो, अत्यन्तै पीडादायी भयो । कुनै पनि अर्थमा त्यहाँ आगजनी गरिएको विषयलाई जायज ठहर्‍याउन सकिँदैन’, भट्टराई नेतृत्वमा २०४७ मा गठित मन्त्रिपरिषद्मा मन्त्री रहेका नीलाम्बर आचार्य भन्छन् ।

‍‍‍...

२०४६ को जनआन्दोलनको सफलतासँगै भट्टराई पहिलो पटक ६ वैशाख २०४७ मा प्रधानमन्त्री बनेका थिए । तर आफ्नै नेतृत्वको सरकारले वैशाख २०४७ मा गरेको आमनिर्वाचनमा उनी पराजित भए । २०५० मा सम्पन्न उपनिर्वाचनमा पनि पराजित भए । पार्टीभित्र अन्तर्घात गरेर उनलाई हराइएको विषय अहिले पनि राजनीतिक वृत्तमा चर्चा हुने गर्छ ।

२०५६ को निर्वाचनअघि कांग्रेसको छवि अत्यन्तै खस्किएको थियो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मतदातालाई आकर्षण गर्न सक्ने स्थिति थिएन । त्यसैले उनले चुनावपछिको प्रधानमन्त्रीमा भट्टराईलाई अघि सारे । परिणामतः कांग्रेसले एकल बहुमत प्राप्त गर्‍यो ।

Such simplicity was also our leaderयसरी त्यतिबेला भट्टराई कांग्रेसको उद्धारकका रूपमा देखिएका थिए । चुनावपछि उनी दोस्रो पटक प्रधानमन्त्री बने । तर कोइरालाले टिक्न दिएनन् । अनेकौं जालझेल गरेर १० महिनामै बालुवाटारबाट निकाले ।

बलियो ‘मोरल पावर’ भएका किसुनजीलाई सत्ता आउनु–जानुको धेरै अर्थ पनि रहेन । उनी पदमा आए–गए, सादगी जीवन भने कायमै राखे । ‘उहाँले सधैं साधारण जीवनशैली अपनाउनुभयो । प्रधानमन्त्री भएपछि पनि साधारण शैली कायमै राख्नुभयो । उहाँको कोठामा गएर सहजै भेट गर्न सकिन्थ्यो,’ आचार्य भन्छन् ।

प्रधानमन्त्री छँदा भट्टराई छाता, सुराही र ट्यांकाको नियमित प्रयोग गर्थे । त्यसप्रति उनको अपनत्व पनि थियो । लामो र कालो छाता प्रयोग गर्थे, किसुनजी । अरू बेला टेक्दै हिँड्न हुन्थ्यो, पानी परिहाले वा घाम लागेमा ओढ्न । यो एक किसिमले बुढेसकालको आवश्यकता पनि थियो । सुरुवातमा उनी बाँसको डाँठ भएको छाता ओढ्थे । त्यसमा प्वाल परिसकेपछि कसैले स्टिलको डाँठ भएको छाता किनेर दिएको थियो । 

छाता बिग्रिएमा नयाँ किन्ने होइन, मर्मत गर्न जान्थे उनी । त्यसका लागि इन्द्रचोकमा रहेको भैरव छाता भण्डार नै पुग्थे । ‘छाताको डाँठ खुस्किन्थ्यो । अनि त्यहाँ पुगेर भन्नुहुन्थ्यो– ए बाबु, यो त खुस्कियो त,’ भट्टराईको दुवै प्रधानमन्त्रीकालमा प्रेस क्षेत्र संयोजन गरेका पत्रकार किशोर नेपाल सम्झिन्छन्, ‘आफैं छाता लिएर जानुहुन्थ्यो । हामी पछाडि–पछाडि केही व्यक्ति हुन्थ्यौं ।’

सुराहीको पानी पनि नियमित पिउने गर्थे । जाडो होस् वा गर्मी, सुराहीकै पानी पिउँथे । यद्यपि त्यो फुटिरहन्थ्यो । फेरिरहनुपर्थ्यो । ‘उहाँकामा काम गर्ने एउटा केटा थियो । एक पटक सुराही फुट्यो,’ नेपालले सम्झिए, ‘मेरो सुराही किन फुटाइस्, जा किनेर लिएर आइज भन्नुभयो । केटो रुन थाल्यो । अनि किसुनजीले भन्नुभयो– नरो न, पैसा म दिन्छु ।’

ट्यांका पनि उनी नियमित प्रयोग गर्थे । त्यसलाई उनले बनारसबाट ल्याएका थिए । खासगरी पार्टीका महत्त्वपूर्ण दस्तावेज र कपडा राख्थे । ‘उहाँले केही चिज जतन गर्नुपर्ने भयो भने त्यही ट्यांकामा राख्नुहुन्थ्यो,’ नेपाल भन्छन्, ‘मन परेको कुर्था पनि राख्नुहुन्थ्यो ।’ उनको जीवन कति सादगी थियो भन्ने जनाउन कोटको प्रसंग पनि छ । पत्रकार नेपालले आफ्नो पुस्तक ‘मेरो समय’ मा प्रधानमन्त्री बनेपछि भट्टराईले पुरानै कोट लगाएर शपथ ग्रहण गरेको उल्लेख गरेका छन् ।

दुवै कार्यकालमा उनले आफ्नो सादगी शैलीलाई कायम राखेका थिए । त्यसैले त उनी प्रधानमन्त्री हुँदा छाता, सुराही र ट्यांका बोकेर बालुवाटार प्रवेश गरेका थिए, पदमुक्त भएपछि पनि ती तीन थोक मात्रै बोकेर फर्किए । बालुवाटारको शक्तिका आडमा थप सम्पत्ति कमाएनन्, कमाउन आवश्यक ठानेनन् ।

‍‍‍...

प्रधानमन्त्री हुनुअघिको आफ्नो जीवनशैलीलाई भट्टराईले प्रधानमन्त्री छँदा पनि निरन्तरता दिएका थिए । नेपालले ‘मेरो समय’ मा लेखेका छन्– ‘उहाँ हरेक शनिबार बिहान चिया पिउन नयाँ बानेश्वरको लक्ष्मीको चियापसल जान पनि छोड्नुभएन र साँझ पान खान र टाइम्स अफ इन्डिया किन्न न्युरोड जान पनि छोड्नुभएन ।’

यो सबै किन सम्भव भयो भने, उनमा शासक बन्ने महत्त्वाकांक्षा नै थिएन । देशको समस्यालाई बुझ्ने, अन्तरआत्मासँग छलफल गर्ने र ‘सिनियर’ साथी समक्ष कुरा ल्याउने स्वभाव थियो । उनी दबाब वा प्रभावमा पनि पर्दैनथे । अनावश्यक विषयलाई सहजै पन्छाउँथे । पत्रकार किशोर नेपालले दुई प्रसंग सम्झिए ।

Such simplicity was also our leaderपहिलो, २०४७ मा संविधान निर्माण प्रक्रिया चलिरहेको बेलामा राजाको अधिकार राख्न दबाब दिने उद्देश्यले १७ जना जर्नेल युनिफर्म लगाएर प्रधानमन्त्रीको कार्यालयमा आए । राजाको अधिकारलाई सुरक्षित गर्नुपर्ने र त्यो सार्वभौमिकताको विषय भएको, राजा आफूहरूको परमाधिपति पनि भएको विषय राखे । किसुनजीले सहजै भन्नुभयो– ‘ए बाबुहरू त्यसकै लागि आउनुभएको हो । जानुस् जानुस् । राजासँग यस विषयमा कुरा भइसकेको छ ।’ उनीहरू थप केही बोलेनन्, सलाम गर्दै फर्किए ।

दोस्रो, एक पटक कुनै सन्दर्भमा कुराकानी गर्न बोलावट गर्दै राजाको सचिवालयबाट फोन आएको थियो । किसुनजीले भन्नुभयो– ‘आज मेरो टाउको दुखिरहेको छ । सरकारलाई भनिदिनुस्, कृष्णप्रसाद भोलि ह्विस्की खान आउँछ ।’ आचार्य भन्छन्, ‘उहाँ परिहासप्रिय हुनुहुन्थ्यो । जीवनका कठिनाइहरूलाई ख्यालठट्टामा उडाइदिनुहुन्थ्यो ।’ 

‍‍‍...

बहुदलअघि र पछिका कैयौं प्रधानमन्त्री जनताले देखेका छन् । केही महिना वा वर्षमा घुमिफिरि बालुवाटार पुगिरहने प्रधानमन्त्रीका रहनसहन बदलिएको देखेका छन् । उनीहरू स्वयं र आसपासका मानिसले रातारात ‘प्रगति गरेको’ पनि देखेका छन् । संविधान जारी भएपछिका दस वर्षसम्म (सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिसम्म) आलोपालो प्रधानमन्त्री बनेका केपी शर्मा ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल अनेकथरी विवादमा फसेका छन् । उनीहरूलाई नपुग्दो केही छैन, तर त्यसको वैध स्रोतबारे समाजमा आशंका छ ।

प्रधानमन्त्री मात्रै किन ? मन्त्री, कैयौं संस्थाका हाकिम वा कर्मचारीको जीवनशैलीले ह्वात्तै चढेको उकालो देखेर समाज आश्चर्यचकित छ । दिग्दार छ । आक्रोशित छ । आज प्रधानमन्त्री वा मन्त्री भएका नेता समाजसँग संवाद गर्न सक्दैनन्, आममानिससँग भेटघाट वा घुमफिर गर्न सक्दैनन् । प्रायः मन्त्री तथा कर्मचारी स्वार्थ समूहको फाइललाई वैधानिकता दिलाउने हस्ताक्षरकर्तामा संकुचित भएको आरोप लाग्ने गर्छ । तर किसुनजी आदर्शवादी राजनीतिको ‘आइकन’ कै रूपमा रहे ।

यी सबैको पृष्ठभूमिमा बाँडेगाउँको आश्रममा सुरक्षित छाता, सुराही र ट्यांका प्रतीक बनेर बसेका थिए– सादगी राजनीतिको । पारदर्शी राजनीतिको । यतिबेला तीमाथि नियोजित आगजनी हुनु सादगी राजनीतिमाथि पनि आगजनी नै हो । उसै पनि नेपाली राजनीतिले देखाउन र सिकाउन कुनै बलियो आदर्श स्थापित गर्न सकेको छैन ।

एउटा सन्दर्भ थियो– छाता, सुराही र ट्यांका । तिनको भौतिक अवशेष पनि जलाइएका छन् । ‘यो हाम्रो मूल्यमान्यतालाई जलाउने काम हो । सिम्बोललाई जलाउने काम हो,’ आचार्य भन्छन्, ‘भ्रष्टाचारविरोधीहरूले सुराही जलाउनुपर्ने आवश्यकता नै थिएन ।’

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully