जेन-जी आन्दोलनका दोषीमाथि सशक्त कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री कार्की 

राष्ट्रको नाममा पहिलो सम्बोधनका क्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गरिन् ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Strong legal action will be taken against the culprits of Gen-J movement: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही गर्ने दाबी गरेकी छन् ।

राष्ट्रको नाममा पहिलो सम्बोधनका क्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गरिन् । उनले जेन-जीको आन्दोलनपछि आफूले पाएको अधिकारअन्तर्गत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुलाई संलग्नता गराएर सरकार गठन गरेको दाबी उनले गरिन् । 

उनले भ्रष्टाचारको अन्त्य, सुशासन अनि विकास अपेक्षा गरी भएको आन्दोलनको अभिव्यक्तिअनुसार सरकारले काम गर्ने दाबी गरिन् । उनले ६ महिनाभित्र निर्वाचन गर्न प्रधानमन्त्री भएको पुन: स्मरण गराएकी छन् । उनले सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सरकारले ध्यान दिएर पुनर्निर्माण पनि सुरु गर्ने बताइन् ।

उनले जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुलाई सहिद घोषणा गर्दै आर्थिक राहतको घोषणा गरेको र घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था गरेको पनि बताइन् । 

२१ फागुनभित्र निर्वाचन गर्न सबै बजेट, सुरक्षा र कानुनी विषयमा छलफल गरेर कार्य प्रारम्भ गरेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully