दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासमा यात्रा

नागढुंगा–नारायणगढ सडकअन्तर्गत धादिङको जवाङखोला र चितवन तुइनखोलामा पहिरोले आवागमन ठप्प, यात्रु र दसैंका सामान अलपत्र

आश्विन ९, २०८२

विमल खतिवडा

Landslides in places in the face of Dasain, traveling in fear

काठमाडौँ — दसैं मनाउन घर जानेक्रम बढिरहेकै बेला वर्षाले ठाउँ–ठाउँमा सडकलाई क्षति गर्दा यात्रा सकसपूर्ण बनिरहेको छ । काठमाडौं उपत्यकाबाट अधिक संख्यामा यात्रु बाहिरिने नागढुंगा–नारायणगढ सडकमा पहिरोले अवरोध गर्दा यात्रु अलपत्र परिरहेका छन् । सवारी चाप बढी हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा पानी पर्नासाथ आउजाउमा समस्या हुने गरेको छ ।

नागढुंगा–मुग्लिन सडकअन्तर्गत धादिङको जवाङखोला नजिकै सोमबार राति ११ बजे सुक्खा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर १६ घण्टापछि मंगलबार दिउँसो दुईतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएकामा बुधबार राति फेरि पहिरो खसेको छ । यही खण्डको घोप्टेभिरमा पनि पहिरो गएको छ । 

मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइनखोलामा पनि पहिरोले आवागमन ठप्प छ । तुइनखोलामा गत शुक्रबार नै पहिरो खसेपछि करिब ४५ घण्टापछि पहिरो पन्छाएर आइतबार एकतर्फी सञ्चालन गरिएको थियो । त्यस क्षेत्रमा सोमबार भने दुईतर्फी रूपमा सवारीसाधन चलेका थिए तर मंगलबार दिउँसो फेरि पहिरो गएपछि आउजाउ रोकिएको छ ।

‘तुइनखोलाको पहिरो पन्छाउन नपाउँदै धादिङतर्फको जवाङखोलामा पहिरो खसेर समस्या भएको थियो । अहिले दुवैतिर समस्या छ,’ नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले भने । पहिरोले सडक अवरुद्ध गर्दा यात्रु मंगलबारदेखि धादिङ र चितवनका विभिन्न स्थानमा अलपत्र छन् । सडक विभागका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक विभागले पनि नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा त्रिभुवन राजपथको नौबिसे–हेटौंडा, कान्ति राजमार्गको सातदोबाटो (ललितपुर)–भैरव मन्दिर–बगुवा–लेनडाँडा–हेटौंडा, कालीगण्डकी करिडोरको गैंडाकोट–पाल्पा रामपुर–भिमाद (तनहुँ), फिर्केखोला–धादिङबेसी–सल्यानटार, आरुघाट–आँबुखैरेनी, पोखरा–बुटवल सडक प्रयोग गर्न आग्रह गरेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार मुग्लिनबाट नारायणगढतर्फ लाग्दै गर्दाको खण्डमा भौगोलिक बनावट निकै जटिल र अप्ठ्यारो छ ।

‘नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको समस्या थपिँदै जानुको एउटा कारण २०७२ सालको भूकम्पको असर हो, अर्को कारण मुख्य सडकभन्दा माथि बस्ती जोड्न जथाभावी खनिएका सहायक सडकहरू हुन्,’ उनी भन्छन्, ‘यसरी खनिएका सडकका कारण कस्तो क्षति पुग्छ भन्ने बुझ्न गत वर्ष यही सडकखण्डमा पर्ने सिमलतालमा गुडिरहेका दुई वटा यात्रु बस पहिरोले बगाएको उदाहरण नै काफी छ ।’

न्यौपानेले अवरुद्ध सडक दुईतर्फी आउजाउ सञ्चालन गर्नमा केन्द्रित भइरहेको जानकारी दिए । ‘सडक दुईतर्फी रूपमा राम्रोसँग सञ्चालनमा ल्याउनासाथ के कारणले समस्या आयो भन्नेबारे अध्ययन थालिहाल्छौं,’ उनले भने, ‘त्यसपछि सुधारको काम थाल्छौं, अर्को बर्खामा यस्तो समस्या आउन दिँदैनौं ।’

नागढुंगा–मलेखु खण्डमा स–साना पहिरो खसे पनि यातायात सञ्चालन भइरहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘यस खण्डमा धेरै समस्या छैन, पहिरो खस्ने सम्भावित क्षेत्रमा मेसिन र प्राविधिक जनशक्ति तैनाथ राखिएको छ,’ उनले भने, ‘अहिले दुईतर्फी यातायात चलिरहेको छ ।’

दसैंमा उपत्यकाबाट बाहिरिने सवारी चाप बढ्ने भएकाले त्यहीअनुसार आवागमन सहज बनाइरहेको ओझाको भनाइ छ । यो सडक भएर दिनमा १५ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट दसैंमा यात्रुवाहक सवारीसाधन चलाउनुपर्ने माग पनि उठिरहेको छ । तर यस विषयमा परामर्शदाता र निर्माण कम्पनीसँग छलफल गरेर मात्र निर्णय गरिने सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता झाका अनुसार अरनिको राजमार्गको कोदारी खण्ड सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ । त्यहाँ अहिले कुनै समस्या नरहेको झाको भनाइ छ । उक्त सडकखण्ड १७ साउनदेखि अवरुद्ध थियो ।

सडक खुलेसँगै तातोपानी नाकाबाट दसैंका लागि सामान भित्रिन थालेका छन् । ठूला र लामा कन्टेनर ओहोरदोहोर गर्ने सडक भएकाले सुधारको काम भइरहेको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सडक खुलिसकेको छ, चीनबाट सामान लिएर आएका कन्टेनर पार हुन थालेका छन्,’ उनले भने । सडकमा अहिले पानी तर्काउने काम भइरहे पनि ठूलो पानी पर्दा पहिरो खस्ने जोखिम कायमै छ ।

अघिपछि र विशेष रूपमा चाडबाडमा यात्रुले सास्ती खेप्ने गरेको नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा ठूलो समस्या नरहेको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा पानी पर्दा उकालोमा सवारीसाधन चिप्लने र रोकिने समस्या छ । यस्तो समस्या आए तत्काल समाधान गर्न मेसिन र प्राविधिक जनशक्ति खटाइएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

बीपी राजमार्गमा पनि कुनै समस्या छैन । गत वर्ष असोजमा आएको बाढीले १२ किलोमिटर सडक बगाउँदा बीपी राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भएको थियो । दसैंमा बीपी राजमार्ग भएर दिनमा करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।

सडकका कारण यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘न गाडी आउन पाएका छन् न जान, यात्रु लिएर हिँडेका गाडी मुग्लिन पार गर्न पाएका छैनन्, पहिरोले गर्दा बीचमै रोकिएका छन्,’ उनले भने, ‘यही अवस्था आउन सक्छ भनेर दसैंका लागि अग्रिम टिकट बुकिङ नगरौं भनेका थियौं, अग्रिम बुकिङ खुला गरिएको भए कसरी यात्रुलाई लान सक्थ्यौं ।’

काठमाडौं गाडी भित्रिएपछि त्यहीअनुसार यात्रुलाई जाने व्यवस्था गरिने सिटौलाले बताए । ‘अहिले सबैभन्दा बढी समस्या तुइनखोलाको पहिरोले गर्दा भएको छ,’ उनले भने ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully