नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरु– पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बेचन झा बुधबार दिउँसो केन्द्रीय कारागार सुन्धारामा फर्किएका हुन् ।
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका तीन प्रतिवादीहरु केन्द्रीय कारागार फिर्ता भएका छन् ।
२४ भदौमा विभिन्न कारागारमा तोडफोड र आगजनी भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरु पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बेचन झा फरार भएका थिए ।
उनीहरु बुधबार दिउँसो केन्द्रीय कारागार सुन्धारामा फर्किएका हुन् ।
२३ भदौमा जेनजीमाथि प्रहरी दमनको विरोधमा भोलिपल्ट २४ भदौमा भड्किएको प्रदर्शनपछि काराारसम्म तोडफोड र आगजनी भएर देशका २८ कारागार र अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेकासहित १४ हजार ४३ कैदी/बन्दी र थुनुवाहरु भागेकामा पाण्डे, राई र झापनि सम्पर्कविहीन भएका थिए । भागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि उनीहरु बधबार आफै कारागार कार्यालय सुन्धारा फर्किएका हुन् ।
‘जेन–जी’ को अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका बेला विभिन्न कारागार/बन्दीगृह र प्रहरी हिरासतबाट भागेकामध्ये करिब ७ हजार ८ सय ४३ कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार २ सय फरार छन् । फरारमध्ये करिब १ हजार विदेशी नागरिक हुन् ।
