यसैबीच, हङकङमा रहेको सरकारी मौसम विभागले सर्वसाधरण र विमानस्थलहरुलाई ताइफुनबारे सूचना जारी गर्दै सावधानी अपनाउन भनेको छ ।
काठमाडौँ — सुपर ताइफुन ‘रागासा’ हङकङतर्फ नजिकिँदै गरेपछि नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ–काठमाडौं उडान तालिका परिमार्जन गरेको छ ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार, आरए–४०९(काठमाडौं–हङकङ) उडान जुन अहिले बिहान ११ बजे हुनुपर्ने थियो, नया तालिकाअनुसार बिहान ८ बजे प्रस्थान गरेको छ ।
त्यस्तै, आरए–४१० (हङकङ–काठमाडौं) उडान बेलुकी पौने ७ बजेको सट्टा अपराहृन पौने ४ बजे सारिएको छ । यसैबीच, हङकङमा रहेको सरकारी मौसम विभागले सर्वसाधरण र विमानस्थलहरुलाई ताइफुनबारे सूचना जारी गर्दै सावधानी अपनाउन भनेको छ ।
विभागका अनुसार मंगलबार राति र बुधबार बिहानसम्म आँधीको प्रबल हुने अनुमान गरिएको छ । कम्तीमा ६२ किलोमिटर प्रतिघण्टासम्म तीव्र हावा र समुद्री सतहमा उल्लेख्य वृद्धि ल्याउने सम्भावना रहेको भनिएको छ ।
विभागले त्यहाँको तटीय क्षेत्रमा २ देखि ५ मिटर सम्म पानीको सतह बढ्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसका अनुसार, आँधी नजिकिँदै गर्दा हङकङ अन्तर्राष्ट्रिय विमानस्थल ३६ घण्टासम्म बन्द हुने भनिएको छ ।
यसले ठूलो मात्रामा उडानहरू प्रभावित हुने अनुमान गरिएको छ । मंगलबार साझदेखि नै धेरै अन्तर्राष्ट्रिय उडान रद्द वा स्थगित हुन थालेका छन् । त्यस्तै हङकङ र दक्षिण चीन क्षेत्रमा हावाहुरीले समुद्री तथा हवाई यातायातमा व्यापक असर पार्ने प्रक्षेपण गरीएको छ ।
मंगलबार रातिसम्मकालागि सूचना जारी गर्दै हङकङले सार्वजनिक यातायात, विद्यालय तथा व्यावसायिक गतिविधि ठप्प हुने चेतावनी दिएको छ । निगमले हङकङ–काठमाडौं सेक्टरका यात्रुहरुलाई आफ्ना उडानबारे निगमको आधिकारिक वेबसाइट र सामाजिक संजालका पेजमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ । निगमले सातामा मंगलबार, विहीबार र शनिबार यो सेक्टरमा उडान गर्दै आइरहेको छ ।
