दृष्टिविहीन शिक्षक सगरमाथा आरोहण तयारीमा

सगरमाथा आरोहणमार्फत विश्वव्यापी जलवायु परिवर्तनबारे सन्देश दिन चाहेको अर्यालले बताएका छन्।

आश्विन ७, २०८२

सुरज कुँवर

Blind teacher prepares to climb Mt

काठमाडौँ — सल्यानका दृष्टिविहीन शिक्षक राजेशकुमार अर्यालले  विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । 

उनले ‘दिगो पर्यटन, शान्ति, समृद्धि र वातावरण : २०२६ मा दृष्टिविहीनद्वारा सगरमाथा आरोहण’ भन्ने मूल नारासहित आफ्नो अभियानबारे जानकारी गराएका हुन् ।

आगामी वसन्तकालीन आरोहण सिजनलाई लक्षित गर्दै उनले अभ्यासका लागि खुम्बु क्षेत्रको लोबुचे हिमाल चढ्ने तयारी गरेका छन् । ६,००० मिटरभन्दा माथिको यो आरोहण नोभेम्बरमा हुनेछ। यस आरोहणको व्यवस्थापन फादर एन्ड सन टेक एन्ड एक्सपिडिसनले गर्नेछ भने उनको साथमा  अनुभवी आरोही पूर्णकुमार (पीके) शेर्पा र दुई सहयोगी गाइडका रूपमा  रहनेछन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ का स्थायी बासिन्दा अर्याल हाल सल्यानमा स्थायी शिक्षकका रूपमा कार्यरत छन् । बाल्यकालमै उनले असाधारण संघर्ष भोगेका छन्। डेढ वर्षको उमेरमै आमा गुमाएका उनी बुबा बेपत्ता भएको अवस्थामा अन्यको घरमा हुर्किनुपरेको थियो। ११ वर्षको उमेरमा दुवै आँखा गुमाएपछि उनको जीवन अझ कठिन बन्यो। तर दृष्टिविहीन साथी रामबहादुर खड्कासँगको भेटले उनलाई नयाँ जीवनको दिशा दियो। धर्मपुत्रका रूपमा स्वीकार गरेपछि उनले आधारभूत शिक्षा दाङमा, उच्च शिक्षा पोखरामा, र स्नातकदेखि स्नातकोत्तर अध्ययनसम्म निरन्तरता दिए। हाल उनी सल्यानमै प्राथमिक तहका बालबालिकालाई शिक्षण गरिरहेका छन्।

अर्यालले सगरमाथा आरोहणमार्फत विश्वव्यापी जलवायु परिवर्तनबारे सन्देश दिन चाहेको बताएका छन्।  ‘नेपालमै पहिलोपटक दृष्टिविहीन व्यक्तिबाट सन्देश दिने उद्देश्यले आरोहण गर्न लागेको हुँ,’ उनले भने । उनले अनुमान गरेको सगरमाथा आरोहण लागत करिब १ करोड रुपैयाँ हुनेछ। साथै, दृष्टिविहीन आरोहीलाई लाग्ने समय सामान्य आरोहीभन्दा बढी हुने भएकाले यो अभियान चुनौतीपूर्ण हुने उनको भनाइ छ।

अर्याल पत्नी कल्पना बोहोरा र दुई छोरीका अभिभावक हुन्। उनका संघर्ष, दृढ इच्छाशक्ति र सपनाप्रति भएको विश्वास सम्पूर्ण युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully