माओवादीले विशेष महाधिवेशन गर्ने, एमालेमा नेतृत्वमाथि प्रश्न

माओवादीले नयाँ नेतृत्व चयनका लागि मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय, एमालेमा केन्द्रीय सचिवालयको बैठक बस्नेबारे छलफल

आश्विन ६, २०८२

गंगा बीसी

Maoists to hold special convention, question leadership in UML

काठमाडौँ — माओवादीले नयाँ नेतृत्व चयनका लागि मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले विशेष महाधिवेशन गर्न केन्द्रीय समितिलाई आयोजक समितिमा परिणत गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल विशेष महाधिवेशन आयोजक समितिको संयोजक हुनेछन् । ९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्नेछ । 

माओवादी उपमहासचिव वर्षमान पुनले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्न स्थायी र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए । ‘यो महाधिवेशनले युवा पुस्तामा नेतृत्व लाने गरी निर्णय गर्छौं,’ उनले भने । जेन–जीको प्रदर्शनपछि युवामा नेतृत्व हस्तान्तरण गर्ने दबाब बढेपछि दाहालले विशेष महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका हुन् । 

बैठकको सुरुमै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक परिस्थितिअनुसार विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । माओवादीलाई युवा पुस्ताको जिम्मा लगाएर पुनर्गठन गर्न आफू तयार रहेको उनको भनाइ थियो । ‘म माओवादीलाई युवा पुस्ताको जिम्मा लगाएर अभिभावकका रूपमा बस्न तयार छु । अब विशेष महाधिवेशनले खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नेछ’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘अब त्यसअनुसार पार्टीको पुनर्गठन हुनेछ ।’ 

माओवादीको २०७८ पुसमा आठौं महाधिवेशन भए पनि त्यसले नेतृत्व हस्तान्तरण गर्न सकेको थिएन । प्रत्यक्ष निर्वाचित केन्द्रीय समिति र नेतृत्व चयन गर्न माग भए पनि दाहालकै अरुचिका कारण प्रत्यक्ष निर्वाचन भएको थिएन ।

माओवादीमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीलगायत नेताहरूले नेतृत्व हस्तान्तरणको मुद्दा अघि सादै आएका थिए । कार्की र शर्माले साउन २०८१ मै नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै स्थायी कमिटीमा लिखित, मौखिक धारणा राख्दै आएका थिए ।

आइतबारको बैठकमा शर्माले अध्यक्ष दाहाललगायत सबै पदाधिकारीले राजीनामा दिई वरिष्ठ नेतालाई महाधिवेशन गर्ने जिम्मा दिनुपर्ने प्रस्ताव राखेका थिए । ‘महाधिवेशनमा युवाको प्रतिनिधित्व र नेतृत्वसमेत सुनिश्चित गर्न अहिले नै अध्यक्षसहित सबै पदाधिकारीले राजनैतिक र वैचारिक काम गर्ने गरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्छ,’ शर्माको भनाइ थियो । 

पार्टीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गर्नु युवा पुस्ताका लागि खुसीको कुरा भएको माओवादी युवा नेता माधव सापकोटाले बताए । ‘अनुभवी र युवा पुस्ताको संयोजनबाट पार्टी सशक्त हुनेछ,’ उनले भने । 

माओवादीले संसद् पुनःस्थापनाको माग छाड्दै २१ फागुनमा घोषणा भएको निर्वाचनमा जाने निर्णय पनि गरेको छ । ‘अझै चुनाव बिथोल्ने खतरा भएकाले हामी चुनाव हुने वातावरण बनाउँछौं’ उपमहासचिव पुनले भने, ‘परिवारवाद, भ्रष्टाचारविरोधी मुद्दा पनि अघि बढाउँछौं ।’

यस्तै, एमालेमा नेतृत्वबारे प्रश्न उठे पनि औपचारिक छलफल हुन सकेको छैन । जेन–जी विद्रोहका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले एमाले अध्यक्ष पद पनि छोड्नुपर्ने माग केही नेताहरूले गरेका छन् । तर, जेन–जीको प्रदर्शनपछि एमालेको बैठक बस्न सकेको छैन । 

प्रदर्शनपछि दस दिन सेनाको ब्यारेकमा रहेका ओली भक्तपुरको गुन्डुमा सरेका छन् । एमालेले शुक्रबार संविधान दिवस मनाएको थियो । केन्द्रीय सचिवालयको बैठक बस्नेबारे छलफल भइरहेको नेताहरूले जनाएका छन् । बैठकमा समग्र स्थितिको विश्लेषण गरी पार्टी नीति, नेतृत्व पुनर्गठनलगायत विषयमा छलफल हुनेछ । 

जेन–जीको आन्दोलनका कारण एमालेले नेतृत्व गरेको सरकार विस्थापित हुनुका साथै यो परिस्थिति उत्पन्न हुनुमा कमजोरीबारे छलफल हुन आवश्यक भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । ‘यति ठूलो घटनाबारे किन सरकार बेखबर भयो ? किन कुनै संकेत पाएन ? कसको कमजोरी रह्यो ? पहिले समग्र घटनाको 

समीक्षा हुनेछ’ उनले भने, ‘महाधिवेशन कहिले, कसरी गर्ने भन्ने त्यसपछि जानुपर्नेछ । अब पुरानो ढाँचाले पार्टी चल्दैन भन्ने प्रस्ट भयो । अब नयाँ ढंगले जानुपर्छ । संगठनमा पनि पुनर्गठन खाँचो छ । कैयौं वैचारिक कुरामा पुनर्गठनको खाँचो छ ।’

सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट पनि संगठन र नेतृत्व पुनर्गठन गर्ने पक्षमा खुलेका छन् । दुवैले पार्टीलाई पुनर्गठन गरी नयाँ सिराबाट अघि बढाउनुपर्ने धारणा राखेका छन् । तर, २०–२२ भदौको एमालेको विधान महाधिवेशनले अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउन सहज हुने गरी विधान पारित गरेको थियो । महाधिवेशनले ओलीका लागि ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकालको प्रावधान हटाएको थियो । 

एमालेमा ओलीको प्रतिस्पर्धीका रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारी अघि सरेकी थिइन् । एमालेमा उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, अरबिन्द सिंहले उमेर हद कायम राखेर नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन् ।

एमालेको आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्दा प्रमुख बनाउने दोस्रो र तेस्रो पुस्ताको तयारी छ । ‘समयले युवा नेतृत्व माग गरिसक्यो । नयाँ पुस्ताको माग नयाँ नेतृत्वले मात्र पूरा गर्न सक्छ,’ केन्द्रीय सदस्य पदम गिरीले भने, ‘अबको महाधिवेशनको प्रमुख मुद्दा युवा नेतृत्व हुनेछ ।’

गंगा

Link copied successfully