यो सिजनमा सबैभन्दा बढी आकर्षण पाएको हिमाल मनास्लु (८१६३ मिटर) हो। मनास्लु आरोहणका लागि मात्र ३१ टोलीका ३सय७४ जना (२७९ पुरुष र ९५ महिला) ले अनुमति लिएका छन्।
काठमाडौँ — पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२५ शरद ऋतु पर्वतारोहणका लागि हालसम्म ५ सय १३ जनाले अनुमति लिएका छन्।
यो सिजनमा सबैभन्दा बढी आकर्षण पाएको हिमाल मनास्लु (८१६३ मिटर) हो। मनास्लु आरोहणका लागि मात्र ३१ टोलीका ३सय७४ जना (२७९ पुरुष र ९५ महिला) ले अनुमति लिएका छन्।
यसबाट सरकारले १५ करोड ७६ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। मनास्लु पछि धौलागिरि प्रथम (८१६७ मिटर) चढ्न २४ जनाले अनुमति लिएका छन्, जसबाट करिब ५० लाख ७१ हजार रुपैयाँ रोयल्टी आएको छ।
तेस्रो स्थानमा नुप्त्से (७८५५ मिटर) छ, जहाँ ११ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन्। यसबाट करिब ७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी, सगरमाथा (८८४८.८६ मिटर) चढ्न चार टोलीका १५ जनाले अनुमति लिएका छन्। यसबाट सरकारले करिब ४२ लाख १२ हजार रुपैयाँ रोयल्टी पाएको छ।
अन्य लोकप्रिय शिखरहरूमा हिमलुङ, पुथा हिमचुली, सारिबुङ, ल्हायु पिक, लोहत्से, मकालु लगायत रहेका छन्। कुल ६० टोलीका ५सय १३ जना (३ सय ९० पुरुष र १ सय २३ महिला) पर्वतारोहीले अनुमति लिएर यस शरद ऋतुमा नेपाली हिमाल आरोहण गर्ने भएका छन्।
विभागले यस अवधिमा मात्र १७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन व्यवसायीहरूका अनुसार मनास्लु शरद ऋतुमा लोकप्रिय हुने प्रमुख शिखर हो। यसपटक पनि सोही प्रवृत्ति देखिएको छ।
